पाल्पाका सामुदायिक र संस्थागत विद्यालयबीच असल अभ्यास र अनुभव साटासाट

तानसेन। पाल्पामा सामुदयिक र संस्थागत विद्यालयले गरेका असल अभ्यास र अनुभव आदान प्रदानसहितको छलफल सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले शिक्षाको गुणस्तर सुधारका लागि गरिएको अभ्यास, चुनौती र रणनीतिबारे विद्यालयका प्रधानाध्यापकसहित सरोकारवालाबीच छलफल गराएको हो।

छलफलका क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य बीर बहादुर रानाले शिक्षाको गुणस्तर सुधारका लागि सबै तहबाट पहल गर्नुपर्ने बताए। उनले परम्परागत शिकाइलाई समय सापेक्ष रुपान्तरण गरेर दक्ष जनशक्ति तयार गर्न सबै विद्यालयका शिक्षक तथा सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिए।

जिल्ला समन्वय समितिका सभापति टंकनाथ खनालले आधुनिक प्रविधिसंग जोडिएर शिक्षाको गुणस्तर सुधारका पहल गर्नुपर्ने बताए।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरीलाल अर्यालले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले खेल्नुपर्ने भूमिका र समय सापेक्ष रुपमा शिक्षामा गर्नुपर्ने रुपान्तरणका बारेका जानकारी दिए।

छलफलमा सामुदायिक र संस्थागत विद्यायका प्रधानाध्यापकहरुले आफूहरुले भएका जनशक्तिबाट सम्पन्न गरेका कार्यप्रगतिको बारेमा जानकारी प्रदान गरेको थिए।

उनीहरुले प्रविधिमा स्तरवृद्धि गर्नपर्ने, शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, स्थानीय पाठ्यक्रम बनेपनि पाठ्यपुस्तर नहुँदा अध्यापन गराउन समस्या भएको जनाउँदै सो विषयमा स्थानीय सरकार गम्भीर गर्नुपर्ने जस्ता कार्य गर्न जरुरी रहेको औल्याएका थिए ।

छलफलमा सहभागी अन्य सरोकारहरुले शिक्षाको गुणस्रतर सुधार गरी समयानुकूल प्राविधिक र प्रयोगात्मक शिक्षाका लागि माथिल्लो निकायबाटै पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया