‘म बनाउछु मेरो रिब्दीकोट अभियान’- ‘काठमाडौंमा बस्ने नागरिकसंग अन्तरक्रियामा सरकार’

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौंमा बसोबास गर्दै आएका सरोकारवाला र नागरिकसंग अन्तरक्रिया गरेको छ । समग्र रिब्दीकोटको विकासका लागि संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै आएका नागरिकसंग छलफल गरेको हो।

पालिकाले गरेका काम, भावी रणनीति र समृद्ध रिब्दीकोट निर्माणका लागि चरणबद्ध रुपमा छलफल र सुझाव संकलन अन्तरगत काठमाडौंमा अन्तरक्रिया गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीले ‘एक बोट सयको नोट’ अभियान अन्तरगत पालिकाका फलफूलको बगौचा निर्माण योजना, अकबरे खुर्सानी र सुन्तलाबाट भएको आम्दानी विवरण, अदुवा बेसार र अन्य कृषि तथा पशुजन्य व्यवसायबाट आम्दानीको स्रोत बढाउने पहल पालिकाले गर्दै आएको पहलका बारेमा जानकारी दिएका थिए ।

अध्यक्ष कार्कीले म बनाउँछु मेरो रिब्दीकोट अभियानलाई निरन्तरता दिएको, पालिकालाई आईएसओ प्रमाणीकरणका लागि पहल गरिरहेको, पालिकाको भित्री क्षेत्रमा जाने सडकमा सुधार देखिएको, विगतमा भन्दा कृषिजन्य बस्तुको निर्यात बढेको, ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको, धार्मिक र पर्यटकीय स्थलको विकास निर्माण र प्रचास प्रसारको कार्य गर्दै आएको बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाले पछिल्लो तीन वर्षको अवधिमा गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतको क्षेत्रमा गरेका कामको प्रस्तुति गरेको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा लिजाबाट प्राप्त गरेको उपलब्धि, बेरुजू न्युनीकरण गरेको, कृषि क्षेत्रमा भएको उपलब्धि, सडक, खानेपानी, पूर्वाधार निर्माणलगायतमा भएका कामको बारेमा सूचना प्रवृधि अधिकृत सुदीप पौडेलले प्रस्तुति गरेका थिए ।

अन्तरक्रियामा बोल्दै राष्ट्रिय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पालिकाभित्र यातायात र अन्य पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको र अब जनताको आर्थिक र सामाजिक विकासका विषयमा ध्यान दिनुपर्ने बताए । उनले तयार भएका पूर्वाधारका लागि सही सदुपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए । शिक्षाको गुणस्तर सुधार गरी जीनवउपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । सूचना प्रविधिको युगमा प्रविधिमैत्री शिक्षा र स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग गरेर अघि बढ्नुपर्ने ज्ञवालीले बताए । कृषि र पर्यटनको राम्रो सम्भावना रहेको रिब्दीकोटलाई अब वैदेशिक निर्यात र पर्यटनमैत्री वातावरण बनाउनुपर्ने बताए ।

अन्तरक्रियामा विघटित प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, संविधान सभा सदस्य कुल प्रसाद नेपाल, नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेल, नेपाल सरकारका पूर्व सचिव सुर्य प्रसाद आचार्य, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सहसचिव कविन्द्र नेपाल, नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की, रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जिसी, जलेश्वरधाम शिवपुराण महायज्ञ २०८२ मुल आयोजक समितिका अध्यक्ष वेणिमाधव आचार्यलगायतले पालिकाको विकास निर्माणमा सहकार्य गर्न सकिने र सोका लागि आफ्नो ठाउबाट सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

छलफलका सहभागीले पालिकाले गाउँमै आएर व्यापार व्यवसाय लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कृषि उद्यम तथा अन्य क्षेत्रमा लगानी गर्ने आफूहरुको चाहना भएको र सोका लागि स्थानीय सरकारले सहकार्यको वातावरण तयार गर्नुपर्ने बताएका थिए ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीका स्वागत,  प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालकाे संचालनमा चलेकाे अन्तरक्रियाको सहजीकरण रिब्दीकोट ५ निवासी  प्रदिप आचार्यले गरेका थिए ।
पालिकाले यसअघि रुपन्देही, कपिलबस्तु र नवलपरासीमा बसोबास गर्ने व्यक्तिहरुसँग बुटवलमा छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया