रैनादेवीमा दुई दिने न्वागी मेला लाग्ने

तानसेन। पश्चिम पाल्पाको रैनादेवी छहरास्थित भुवनपोखरी मन्दिरमा मंसिर ७ र ८ गते न्वागी मेला लाग्ने भएको छ । परम्परादेखि चलिआएको न्वागी पर्व मनाउन यो वर्ष पनि मेला आयोजना हुने भएको हो। प्रत्येक वर्ष नयाँ धान भित्र्याएपछि अन्न ग्रहण गर्नका लागि रैनादेवी मन्दिरमा चढाउने प्रचलन अनुसार मेला लाग्ने भएको हो ।

विगतका वर्षमा जस्तै विधि पूर्वक धामी झाँक्रीद्वारा देवीसँग सोधी उत्तम साहितमा मेला लगाउने तयारी गरिएको हो। परम्परागत रुपमा न्वागी खाने दिनलाई मोलका रुपमा मनाउने र समग्र रैनादेवीको प्रचार प्रसारका गर्नका लागि विभिन्न समितिमार्फत मेलाको तयारी तीव्र पारिएको वडा अध्यक्ष प्रदिप पौडेलले जानकारी दिए।

नयाँ चामल दहीमा भिजाएर न्वागी स्वरुप देवतालाई चढाउनुका साथै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन जस्ता विभिन्न समुदायका मौलिक कला संस्कृतिको प्रर्दशन समेत सो अवसरमा गर्ने वडाध्यक्ष पौडेलले बताए। मेलाको अवसरमा सहभागी सबैलाई निःशुल्क रुपमा दही चामलको (न्वागी) खुवाउने कार्यक्रम रहेको छ ।

रैनादेवी मन्दिरको नामबाट गाउँपालिकाको नाम रहेको हुँदा ऐतिहासिक रैनादेवी मन्दिर पुननिर्माणका लागि समेत पालिकाले पहल गर्दै आएको गाउँपालिका अध्यक्ष रक्माङ्गत भट्टराईले बताए। उनले मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य निर्माणका लागि विभिन्न पूर्वाधार बनाउने र उचित प्रचारका विभिन्न कामहरु गर्दै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया