तानसेन। पाल्पामा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधवार साँझ सदरमुकाम तानसेनस्थित शित्तलपाटीमा दीप प्रज्वलन गरेर दिवस मनाएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार गोविन्द भट्टराईले पत्रकारहरुले काम गरेर खाने वातावरण अझै बन्न नसकेको बताए ।
उनले पत्रकारहरु स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने वातावरण सरकारले सिर्जना गरिदिनुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले आजको दिनलाई एक वर्षको समीक्षा गरेर अगाडि बढ्नुपर्ने दिनका रुपमा लिनुपर्ने धारणा राखे ।
महासंघका उपाध्यक्ष भरत शर्माले कार्यक्रममाथि प्रकाश पार्दै श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने बताए ।
महासंघ शाखा अध्यक्ष रेखीराम रानाले प्रतिकूल मौसमका बाबजुद पनि कार्यक्रम गरिएको बताए । उनले सही ढंगले मर्यादिन भएर पत्रकारिता गर्न सबैलाई आग्रह गरे ।
जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थितिमा गरिएको कार्यक्रमलाई महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीनाले सञ्चालन गरेका थिए ।






















