पाल्पा । पूर्व उद्योगमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोम प्रसाद पाण्डेयले आफ्नो ड्रिम प्रोजेक्ट ‘सिद्धबाबा सुरुङमार्ग’ को निर्माण स्थलबाटै चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको तिनाउँ गाउँपालिका–३ मा निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा पुगेर पाण्डेयले आफ्नो राजनीतिक संकल्प र विकासको एजेण्डा जनतामाझ राख्दै चुनावी अभियान सुरू गरेका हुन् ।
आफूले १० अर्बको बजेट हालेर सुरु भएको सिद्धबाबा सुरुगमार्गबाट चुनावी अभियान थाल्न पाउँदा आफुलाई खुसी लागेकोे पूर्वमन्त्री पाण्डेयले बताए । सुरुङमार्ग निर्माणको हालको प्रगति अवलोकन गर्दै पाण्डेयले यस आयोजनाको परिकल्पनादेखि बजेट सुनिश्चिततासम्मको लागि आफुले निकै संघष गर्न परेको बताए।
सिद्धार्थ राजमार्गको ऐतिहासिक र संवेदनशील क्षेत्र सिद्धबाबा सुरुङमार्गको प्रवेशद्वारमा शुक्रबार पत्रकार सम्मेलन गरी पाण्डेयले अभियानको सुरू गर्दै सिद्धबाबा क्षेत्रमा सन् १९६९ (२०२६ साल) देखि हालसम्म ९७२ जनाले अकालमा ज्यान गुमाउनु परेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न सुरुङमार्ग नै एकमात्र विकल्प भएको बताए।
बजेट सुनिश्चितताका बारेमा खुलासा गर्दै उनले भने, “सुरुङमार्गका लागि तत्काल रकम सुनिश्चित नभए म सिद्धबाबा क्षेत्रमै अनसन बस्ने घोषणा गरेको थिएँ। मेरो सोही कडा दबाबपछि मात्र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्नुभएको हो।” २०७४ देखि २०७९ सम्मको आफ्नो कार्यकालमा स्विस सरकारमार्फत सर्भे र डिपिआर निर्माणदेखि बजेटसम्मको नेतृत्वदायी भूमिका खेलेको दाबी पाण्डेयले गरे ।
२०७९ सालको निर्वाचनमा पराजय भोगेपछि पनि आफू पाल्पाको विकास र जनताको दुःखमा निरन्तर साथै रहेको उहाँले बताउनुभयो। “मलाई पैसा कमाउनु छैन, मेरो अरू कुनै स्वार्थ छैन। विगतका अधुरा योजना पूरा गर्न र पाल्पाली जनताको सेवा गर्न म पुनः मैदानमा आएको हुँ,” पाण्डेयले भने ।
संसददेखि सरकारसम्म र झुपडीदेखि महलसम्मको अनुभव आफूमा रहेको चर्चा गर्दै उहाँले भदौ २३ र २४ मा ‘जेनजी’ हरुले गरेको आन्दोलनको भावनालाई समेत सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।





















