पाल्पा । रैनादेवी छहरा–३ स्थित फोक्केआँप कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा शनिवार भव्य रूपले सम्पन्न भएको छ ।
सभाका प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई विशिष्ट अतिथिका रूपमा पूर्व गाउँपालिका अध्यक्ष रामबहादुर कार्कि, रैनादेवी छहरा–३का वडाध्यक्ष प्रतीप पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरू सहभागी थिए । संस्थाका अध्यक्ष ठडबहादुर खाम्चाको अध्यक्षतामा र कार्यक्रमको सञ्चालन चन्द्रमणि पौडेलले गरेका थिए ।

साधारण सभामा सहकारीको ७ करोड रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको थियो। अध्यक्ष खाम्चाले सहकारीको आर्थिक तथा संस्थागत प्रगतिको विवरण प्रस्तुत गर्दै हाल सहकारीमा १,३७५ सदस्य रहेको बताए ।
आगामी वर्षसम्म सदस्य १,५०० पुरयाउने लक्ष्य राखिएको तथा सहकारीले कृषिमा आधुनिकता, बजार विस्तार, वित्तीय पहुँच र सदस्य हितका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको छ ।
कार्यक्रममा सहकारीमा योगदान पुरयाउँदै आएका ज्येष्ठ नागरिक, उच्च मात्रामा दूध उत्पादन गर्ने किसान तथा कक्षा १२ मा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।
सभामा करिब ७०० जनाको सक्रिय उपस्थिति रहेको छ ।




















