तानसेन। पाल्पामा ६ हजार ८८७ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले नयाँ मतदातका लागि आवेदन खुलाएपछि सो संख्यामा नयाँ मतदाता थपिएका हुन्।
आयोज अन्तरगत जिल्ला निार्वचन कार्यालय र अनलाइन माध्यमबाट नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । आयोगले गत असोज ११ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियान संचालन गरेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका पाल्पाका प्रमुख महेश शर्माका अनुसार राष्ट्रिय परिचयपत्रबाट मात्रै चार हजार ३२५ जनाको नाम दर्ता भएको छ । यस्तै जिल्लास्थित निर्वाचन कार्यालयमा एक हजार १७ पुरुष र ८१० जना महिला गरी एक हजार ८२७ जनाको नाम दर्ता भएको छ । अन्य जिल्लाबाट २५९ पुरुष र ३७६ महिला गरी ६३५ जनाले पाल्पामा ठाउँ सारीका लागि निवेदन दर्ता गराएका छन् ।
मतदाता नामावली दर्तापछि अहिले दर्ता भएको मतदाताको विवरणलाई रुजु गर्ने, सच्याउने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । सच्याउने र रुजु गर्ने कार्य सकिएपछि निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या यकिन हुने कार्यालयले जनाएको छ ।
यसैबीच पाल्पामा यसअघि रहेको ११८ वटा निर्वाचन स्थललाई यथावत राख्ने निर्णय समेत भएको कार्यालयले जनाएको छ ।





















