प्रतिनिधिसभा निर्वाचनः काँग्रेसबाट पाल्पा १ मा राना र २ बाट पाँच जना सिफारिस

तानसेन।  प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफरिस भएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका–७, निवासी रानाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति झमन राज मगरका अनुसार पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एक जना महिला थप गर्ने गरी उम्मेदवार सिफारिस गर्ने निर्णय भएको छ । यस्तै क्षेत्र नं. २ बाट भने पाँच जनाको नाम सिफरिस गरिएको काँग्रेस पाल्पाले जनाएको छ ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना,पार्टी सभापति हिमालदत्त श्रेष्ठ, मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम सिफरिस भएको हो। क्षेत्रीय कमिटीको बैठकले पाँच जनाको नाम सिफारिस गरेकोहो ।

हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भए तापनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जीसीले जानकारी दिए ।

पाल्पा २ प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसका पूर्वजिल्ला सभापति राजन पन्त, जिल्ला सचिव सुनिता अधिकारी, मुस्लिम नेता जमिला मियाँ, नेतृ बसन्ती घिमिरे उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया