सम्रग रिब्दीकोटको विकासका लागि बुटवलमा अन्तरक्रिया

पाल्पा। रिब्दीकोट गाउँपालिकाले रुपन्देहीमा बसोबास गर्ने रिब्दीकोटबासीसँग छफफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । समग्र रिब्दीकोटको विकास निर्माणमा पालिका बाहिर बस्ने नागरिकको सहभागिता र सहकार्यका लागि छलफल स्वरुप रुपन्देही, कपिलबस्तु र नवलपरासीमा बसोबास गर्ने व्यक्तिहरुसँग छलफल गरेको हो ।

कार्यक्रममा गाउँपालिकाले पछिल्लो तीन वर्षको अबधिमा गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतको क्षेत्रमा गरेका कामको प्रस्तुति गरेको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा लिजाबाट प्राप्त गरेको उपलब्धि, बेरुजु न्युनीकरण गरेको, कृषि क्षेत्रमा भएको उपलब्धि, सडक, खानेपानी, पूर्वाधार निर्माणलगायतमा भएका कामको बारेमा पूर्वाधार शाखा प्रमुख पुरा केसीले प्रस्तुति गरेका थिए ।

‘एक बोट सयको नोट’ अभियान अन्तरगत पालिकाका फलफूलको बगौचा निर्माण योजना, अकबरे खुर्सानी र सुन्तलाबाट भएको आम्दानी विवरण, अदुवा बेसार र अन्य कृषि तथा पशुजन्य व्यवसायबाट आम्दानीको स्रोत बढाउने पहल पालिकाले गर्दै आएको पहलका बारेमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीले म बनाउँछु मेरो रिब्दीकोट अभियानलाई निरन्तरता दिएको, पालिकालाई आईएसओ प्रमाणीकरणका लागि पहल गरिरहेको, पालिकाको भित्री क्षेत्रमा जाने सडकमा सुधार देखिएको, विगतमा भन्दा कृषिजन्य बस्तुको निर्यात बढेको, ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको, धार्मिक र पर्यटकीय स्थलको विकास निर्माण र प्रचास प्रसारको कार्य गर्दै आएको बताए ।

अध्यक्ष कार्कीले विगतमा गाउँबाट सम्भावना खोजेर शहर छिरेकाहरु अब गाउँ फर्किएर किास निर्माण अन्य व्यवसायमा लाग्नका लागि छलफल गरिएको बताए । उनले भने- “हामी समृद्ध रिब्दीकोट निर्माणको अभियानमा छौं, तपाईँँहरु अब गाउँ फर्किएर बाँझो जमिन हराभरा बनाउन, कृषि, पशुपालन तथा पर्यटन व्यवसायसंग जोडिएर सहकार्य गर्नका लागि पालिकाले अपेक्षा राखेको छ ।”

छलफलमा वडा नं. १, ख्याहा, वडा नं. २ देउराली, वडा नं. ३ खस्यौली, वडा नं. ४ भैरवस्थान, वडा नं. ५ कुसुमखोला, वडा नं. ६ ठिमुरे, वडा नं. ७, पालुङ्मैनादी र वडा नं. ८ फेकमा स्थायी बासिन्दा भई हाल रुपन्देहीमा बसोबास गर्ने नागरिकहरुले सुझावव राखेका थिए ।

उनीहरुले पालिकाले गाउँमै आएर व्यापार व्यवसाय लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कृषि उद्यम तथा अन्य क्षेत्रमा लगानी गर्ने आफूहरुको चाहना भएपछि विविध कारणले लगानी गर्न नसकेको उनीहरुले बताएका थिए ।

छलफल कार्यक्रममा सहभागी थर्कबहादुर कुँवर क्षेत्रीले फेक पालिकाकै दुर्गम वडा भएकाले विकास निर्माणमा सबै वडालाई समान रुपमा हेरेर वनजेट विनियोजन गर्न आग्रह गरे । ध्रुबबहादुर कँवरले पालिका बाहिर बस्ने पालिकाबासीलाई जोड्ने गरी छलफल गरेकोमा पालिकालाई धन्यवाद दिए। उनले पालिकाको विकास निर्माणलगायतमा विकास निर्माणमा सन्तुष्ट हुने स्थान रहेपनि शिक्षा क्षेत्रको नतिजा सुधारमा ध्यान दिन आग्रह गरे। बतासे घर भएका युवा सचिन कुवंरले पालिकाले योजनाबद्ध रुपले काम गर्नुपर्नेमा जोड दिए ।

सहभागीहरुले आफूहरुले पालिकाले सुरु गरेको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागीहरुले गत वर्षदेखि सुरु भएको सुझाव संकलन अभियान सकारात्मक भएको बताउँदै आगामी दिनमा पनि सुझाव संकलन गरी कार्यान्वयन गर्न पालिकालाई अनुरोध गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसी वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

पालिकाले गत वर्षदेखि पालिका बाहिर बस्ने नागरिकसंग सुझाव संकलन अभियान सुरु गरेको जनाएको छ । यस्तै आउँदो शनिवार काठमाडौं बस्ने स्थानीयसंग अन्तरक्रिया राखिएको गाउँपालिकाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया