जनताको धन: डबकामा ६० घरमा रातो रङ

पाल्पा। ‘एउटै मन, एउटै रङ, आफ्नै गोजीको धन’ भन्ने नाराका साथ पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७, डबकाका स्थानीय जनताको सक्रिय सहभागिता र लगानीमा ६० वटा घरको छानोमा रातो रङ लगाउने कार्य सम्पन्न भएको छ।

जनताको आफ्नै पहलमा करिब १२ लाख ३३ हजार रुपैयाँ को लगानीमा भएको यो कार्यको आज एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ। स्थानीय जनताको सक्रियता र सहयोगी संस्थाहरूको साथले गाउँको मुहार फेर्न यो अभियान सफल भएको हो।

यस कार्यलाई सहयोग गर्न रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ, सामुदायिक वन भालुवन डबकाले ५० हजार रुपैयाँ र आत्म निर्भर कृषि सहकारीले ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, वडा अध्यक्ष दान बहादुर कुँवर, समाजसेवीहरू नारायण बहादुर कुँवर, कपिल कुँवर र दोलख बहादुर कार्की लगायतले शुभकामना तथा आफ्ना अनुभवहरू सुनाएका थिए । उनहरूले स्थानीय जनताको यस सामूहिक प्रयासको उच्च प्रशंसा गर्दै यसले अन्य गाउँहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer