तानसेन। रिब्दीकोट गाउँपालिका वडा नं. २ देउरालीका कृषकलाई कृषि यन्त्र वितरण गरिएको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरु माग अनुसार मिनिटिलर र कम्बाइन मिल वितरण गरिएको हो । किसानका लागि मागको आधारमा १७ ओटा मिनिटिलर ३० प्रतिशत अनुदान र ५ ओटा कम्बाइन मिल २० प्रतिशत अनुदानमा कृषकहरुलाई उपलब्ध गराएको वडाध्यक्ष ओम प्रसाद पोखरेले जानकारी दिए।
कृषि यन्त्र वितरण गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले व्यवसायिक रुपमा कृषकलाई खेती गर्नका लागि कृषि यन्त्रले मद्दत गर्ने बताए। किसानलाई यन्त्र उपकारणबाट कार्य गर्नका लागि सहज होस् भन्ने अभिप्रायले यन्त्र उपकरण वितरण गरिएकोमा प्राप्त औजारको सही सदुपयोग गरी लाभ लिनका लागि आग्रह गरे ।
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन कार्यक्रम र अनुदानका योजना राखेको हुँदा कृषकको माग र आवश्यकतालाई ध्यानमा राखेर सहयोगका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष कार्कीले बताए ।
उनले गाउँपालिकाको समृद्धि कृषि क्षेत्रको विकासबाट मात्र सम्भव रहेको समेत बताए। उपाध्यक्ष कान्ता अधिकारीले परम्परागत रुपमा खनजोत गर्दा समय र आर्थिक रुपमा खर्चिलो भएकोले आधुनिक कृषि यन्त्रबाट खेती गर्दा लागत कम र फाइदा धेरै लिन सकिने बताइन् ।
यन्त्र उपकराण पाएपछि स्थानीयले दैनिक काम र कृषि कर्मका लागि सहज हुने भन्दै वडा र पालिकालाई धन्यवाद दिएका छन् ।





















