रिब्दीकोटमा नयाँ फड्को : आधुनिक प्रविधिले पशुको बाँझोपन जाँचिदै

पाल्पा । “समृद्ध रिब्दीकोट निर्माणको आधार, कृषिमा व्यापक विस्तार” भन्ने संकल्पका साथ पाल्पाको रिब्दीकोट गाउँपालिकामा पशुहरूको प्रजनन विकृति तथा बाँझोपन निवारण शिविर आजबाट सुरु भएको छ । जिल्लामै पहिलोपटक अत्याधुनिक प्रविधिको प्रयोग गरी किसानको गोठमै पुगेर पशुहरूको प्रजनन विकृति तथा बाँझोपनको परीक्षण गरिएको हो ।

रिब्दीकोट गाउँपालिका, रिब्दीकोट कृषि परियोजनाको आयोजना, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा यो दुई दिने शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा परम्परागत विधिभन्दा भिन्न र आधुनिक प्रविधिबाट पशुको गर्भ जाँच तथा बाँझोपनको पहिचान गरिएको थियो । अल्ट्रासाउण्ड सेवा मार्फत शिविरको पहिलो दिन ५ ओटा पशुको जाँच गरिएको थियो । दुई दिनको अवधिमा १९ वटा पशुको अल्ट्रासाण्ड मेसिन मार्फत भोलिसम्म जाँच गरिनेछ ।

शिविरको स्थलगत अनुगमन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले किसानको समस्यामा गाउँपालिका सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष कार्कीले भने “पशुपालक किसानहरूको समस्या देखिनासाथ प्राविधिकहरू सम्बन्धित ठाउँमै पुगेर सेवा प्रदान गर्नुपर्छ । किसानको आर्थिक उन्नति नै गाउँपालिकाको मुख्य प्राथमिकता हो ।”

गाउँपालिकाको वडा नं. ३ को भेडाबारी र वडा नं. ७ को डबका टोलमा प्राविधिक टोलीले सेवा दिएका हुन । पहिलोपटक नयाँ प्रविधि बोकेर चिकित्सकहरू गोठमै आएपछि स्थानीय किसानहरू निकै खुसी देखिएका छन् । रिब्दीकोट–७ डबकाकी किसान सीता कुँवरले आफ्नो अनुभव सुनाउँदै भनिन्, “पहिलो पटक गोठमै आएर नयाँ प्रविधिबाट पशुको प्रजनन जाँच गरिँदा हामीलाई निकै सजिलो भएको छ। पहिले यस्तो सुविधा पाउन गाह्रो थियो ।”

शिविरमा पशु प्रजनन क्षेत्रका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए । हेफर इन्टरनेशन नेपालको तर्फबाट पशु चिकित्सक, अन्सु प्रधान, राष्टिय पशु प्रजनन केन्द्र बाँकेका तर्फबाट पशु चिकित्सक मिलन चौधरी, ग्रामीण आर्थिक विकास संघका तर्फबाट पशु चिकित्सक चन्द्र राना, रिब्दीकोट गाउँपालिका कृषि शाखा प्रमुख गीता नेपालको टोली पशुको प्रजनन विकृति परीक्षणमा जुटेका थिए ।

तपाईको प्रतिक्रिया