तानसेन। रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । मंगलबार कफी खेति गर्ने कृषक र इच्छुक कृषकहरुका लागि स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।
रामपुर नगरपालिकामा कफी खेतीको सम्भाव्यता र महत्व , रोपण र उत्पादनको अवस्था, कफी खेतीको व्यवसायी प्रबर्द्धनका लागि सरकारले गरेको नीतिगत व्यवस्था र कार्यान्वयनको पक्ष लगायतका विषयमा जानकारी गराईएको थियो । यस्तै कफी खेतिका लागि आवश्यक वातावरण, लगाउने तरिका, यसबाट हुने उत्पादन र व्यवसायीक सम्भावना र फाइदा, यसको व्यवसायीक प्रबर्द्धनका लागि स्थानीय तहले खेल्नु पर्ने भूमिका लगायतका विषयमा उत्प्रेरणात्मक अभिमुखीकरण प्रदान गरिएको छ ।
एक दिने उत्प्रेरणात्मक तालिम सहितको अभिमुखिकरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले कफीको माग बढ्दो रहेकोले यसको व्यवसायीक उत्पादन र प्रबर्द्धन गर्न आवश्यक रहेको बताइन । माग बढ्दा बजारको समस्या नहुने भन्दै व्यवसायीक कफी खेति गरी मनग्य आम्दानी लिन आग्रह समेत गरिन ।
उनले रामपुरमा कफी खेतिलाई व्यवसायीक रुपमा विकास गर्नका लागि स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने बताइन विगतमा वडा नं.९ लाई कफी खेतिको पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गरे पनि कृषकहरुले खेती गर्न छोडेको भन्दै अन्य कृषकहरुलाई पनि अब पुन कफी खेति गर्न आग्रह गरिन । उनले उपप्रमुख कोशेली घर मार्फत रामपुरमा उत्पादन भएको कफी खेतिको बजारीकरण नगरपालिकाले गर्दै आएको जानकारी दिँदै उनले नगरपालिका भित्रका कृषकहरुले कफी खेति होस् वा जुनसुकै खेति व्यवसायीक रुपमा गर्न चाहे ब्याज अनुदान लगाएत जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
नगर सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले कफी खेतिको विस्तृत सम्भावना अध्ययन गरेर रामपुरमा कफी खेतीको विकास गर्नु पर्ने आवश्यकता औँल्याए। उनले भौगोलीक हिसाबले नेपालको मध्य पहाडी क्षेत्रमा कफी खेतीको राम्रो सम्भावना रहेको भन्दै अन्य खेति भन्दा कफी खेतीबाट बढी आम्दानी लिन सकिने बताए।
विगतमा प्रशोधनका लागि प्रविधि र बजारको समस्या भए पनि अहिले क्याफे र कफी संस्कृती बढ्दो रहेकोले सजिलै विक्री गर्न सकिने बताए। पहाडी क्षेत्रमा बाँदरको समस्या भए पनि बाँदरले नखाने र तुलनात्मक रुपमा अन्य खेति भन्दा कफी खेतिबाट लाभ बढी लिन सकिने उल्लेख गरे। साथै कफी खेतीको व्यवसायीक विकासका लागि विकास बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। साथै यसको विकासका लागि स्थानीय सरकारले अनुदान लगायतका कृषकहलाई प्रोत्सहान हुने कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले राम्रो हेरचाह र व्यवस्थापन गरेर कफी खेति गर्न सके रोजगारी सिर्जना संगै आम्दानीको राम्रो स्रोत बन्ने बताए। उनले व्यवस्थित र व्यवसायीक रुपमा कफी खेति गर्न कृषकहरुलाई आग्रह गरे।
कार्यक्रममा सहभागी कृषकहरुले विगतमा कफी खेति गरे पनि बजारको समस्याका कारण खेती नै गर्न छाडेको बताएका छन् । उनिहरुले प्रशोधन , प्राविधिक ज्ञान संगै बजारीकरणको समस्या नभए पुन खेति शुरु गर्ने बताएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा भएको कार्यक्रम बोर्डका प्रमुख चन्द्र पुरीको अध्यक्षता र रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्तामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले गरेका थिए।





















