रैनादेवी छहराको भुवनपोखरीमा सार्वजनिक सुनुवाइ

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा नम्बर ३, भुवनपोखरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को योजना तर्जुमाका लागि नागरिकका सुझाव संकलन गर्ने र चालु आयोजनाहरूको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय बासिन्दाहरूले वडाको सुशासन र सेवा प्रवाहप्रति सन्तुष्टि व्यक्त गरे पनि केही आधारभूत क्षेत्रमा सुधारको माग गरेका छन् । नागरिकहरूले विशेषगरी शैक्षिक गुणस्तर, स्वास्थ्य सेवामा सहज पहुँच, कृषि क्षेत्रमा प्राविधिक सहयोग, विद्युत, खानेपानी र सडक पूर्वाधारको गुणस्तरबारे आफ्ना जिज्ञासा र गुनासा राखेका थिए ।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले नागरिकका सुझाव नै गाउँपालिकाको मार्गदर्शक सिद्धान्त भएको बताए । उनले भने, ‘हामीले सञ्चालन गरेका कार्यक्रमहरूलाई नागरिककै सुझावका आधारमा परिमार्जन गरी पूर्ण रूपमा जनकेन्द्रित बनाउनेछौँ ।’

त्यस्तै, उपाध्यक्ष युराज थापाले गाउँपालिकाभित्रका विकास निर्माणका आयोजनाहरूलाई समयमै सम्पन्न गर्न र गुणस्तर कायम गर्न नियमित अनुगमन भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै सुशासन र पारदर्शितामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुनुवाइ कार्यक्रममा गाउँपालिकाका लेखा, स्वास्थ्य लगायत विभिन्न शाखाका प्रमुखहरूले नागरिकका जिज्ञासाको जवाफ दिँदै सेवामा देखिएका समस्या समाधान गर्न आफूहरू तयार रहेको बताए। वडा नम्बर ३ का बासिन्दाहरूले स्थानीय सरकार र कर्मचारीसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले सरकार र जनताबीचको सम्बन्ध बलियो बनाउने धारणा राखेका थिए ।

कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सामुदायिक रेडियो मुक्तिनाथ एफएमका स्टेशन म्यानेजर भुवन रायमाझीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया