कालीगण्डकीमा बेपत्ता बालकको खाेजीकार्य तीव्र

तानसेन। कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको खोजी कार्य तीव्र बनाइएको छ । विगत तीन दिनदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी कार्य जारी राखेका हुन् ।

गत बुधवार पाल्पा र स्याङ्जाको सीमाना राम्दी स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा कैलाली लम्कीचुहा १ का १५ वर्षीय बखन साही र १६ वर्षीय बिराज न्यौपाने नदीमा बगेका थिए । न्यौपानेको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको थियो । उनीसंगै घुम्न आएका शाही भने बेपत्ता भएका थिए।

घटनापछि प्रहरीले गोताखोर टोलीको प्रयोग गर्दै नदीको विभिन्न क्षेत्रमा खोजी कार्य तीव्र पारेको छ । यद्यपि तेस्रो दिनसम्म पनि बखनको पत्ता लागेको छैन। सुरक्षाकर्मीको टोलीले खोजी कार्य अझ विस्तार गर्दै नदीको तल्लो क्षेत्रमा समेत पुगेको छ ।

उता पानी परिरहेका कारण नदीको बहाव उच्च भएका कारण खोजीमा कठिनाइ भएको सुरक्षा निकायले जनाएको छ ।

तपाईको प्रतिक्रिया