काठमाडौं । आज नेपालीहरुको महान् चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।
दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने जनाएको छ । तर, उत्तम साहित हेर्नेको हकमा भने बिहान ११ बजेर ५३ मिनेटमा टीका लगाउने उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ ।
‘दशैंको बिहानदेखि दिनभर र अपराह्नसम्म पुरै साइतको दिन मानिने समितिले जनाएको छ । दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । त्यसपछि सुरुमा कुलदेवता र पितृदेवतालाई टीका–जमरा चढाउने गरिन्छ ।
कतिपय ठाउँमा घरको मूल ढोका अर्थात् दैलामाथि टीका लगाइदिने र चारैदिशा टीका–जमरा चढाउने परम्परा छ । यति काम सम्पन्न भएपछि मात्र मान्यजनबाट टीका लगाउने गरिन्छ ।
टीका लगाउँदा घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजन कहाँबाट टीका लगाउन जाने चलन छ ।
टीका लगाइदिने व्यक्ति पश्चिम र लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।




















