पाल्पा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रम गर्ने भएको छ। पार्टीले आईतबार जिल्ला सदरमुकाम तानसेनबाट अभियानको सुरुवात गर्ने भएको हो ।
अभियानको उद्घाटन समारोह तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसबाट सुरु गरी पालिका र वडास्तरमा संचालन हुनेछ । उद्घाटन समारोहमा केन्द्रीय नेता चक्रपाणी खनाल (बलदेव), प्रदेश, जिल्लास्तरका नेता तथा कार्यक्रताको उपस्थिती रहने पार्टीको प्रचार समितिको संयोजक अनिलकिशोर घिमिरेले जानकारी दिए ।
उक्त कार्यक्रममार्फत जनस्तरमा जागरण ल्याउने, पार्टीको आगामी नीति तथा कार्ययोजना जनस्तरमा पुर्याउने अभियान रहेको बताइएको छ । पार्टीले अभियानमार्फत राजनीतिक तथा सामाजिक जागरणका विषयलाई जनस्तरसम्म पुर्याउने उद्देश्य राखेर अभियान सुरु गर्न लागिएको नेकपा पाल्पाका संयोजक नेत्र प्रसाद पाण्डेयले बताए ।
राज्यमा मौलाएको बेथितीको भण्डाफोर गर्न तथा पार्टीले चलाएको सुशासन, समाजिक न्याय जनस्तरका कामका बारेमा जनतासंग सहकार्य गरेर अघि बढ्न जागरण अभियान प्रभावकारी हुने विशस लिइएको उक्त पार्टीले जनाएको छ ।






