दशैंको टीका कता फर्किएर लगाउने

पाल्पा। आज बडादशैं। गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत नेपाली समयानुसार बिहान ११ बजेर ५३ मिनेटमा रहेको बताइएको छ ।

यस्तै उत्तम साहितमा कुन दिशामा फर्किएर टीका लगाउने भन्ने पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो । ‘सामान्यतयाः पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा भएकोले दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।

कोही–कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गर्दछन् । तर दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किंदा राम्रो हुने समितिले जनाएको छ ।
कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन नभएकाले टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनु नै उत्तम मानिन्छ ।

यस वर्षको देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तर काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने बताइन्छ । किनभने टीका–जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु पर्दैन ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer