तानसेन। श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लि. पाल्पाले सहकारीको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न गरेको छ । सहकारीको २५ औं साधारणसभा तथा आठौ अधिवेशनका अवसरमा आयोजित कार्यक्रमामा तानसेन बजार भित्रका १५ वटा सहकारीका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो ।
वर्तमान अवस्था र चुनौती विषयमा अवधारणा प्रस्तुत गर्दै कार्यक्रम संयोजक माधव प्रसाद अर्यालले मुलुकको सहकारीको अवस्थाबारे जानकारी गराउनुभयो । पाल्पामा सहकारी संस्था ३ सय ८२ पुगे पनि २ सय ७८ वटा सक्रिय रहेको छ । संस्थाका अध्यक्ष झपेन्द्र गहिरेले सहकारीका विषयमा छलफल गर्ने वातावरणसमेत तयार नभएको अवस्थामा यो कार्यक्रमले पक्कै पनि सहकारीका विषयमा मन्थन गर्दै जानका लागि सहज वातावरण बन्ने बताए।
तानसेन नगरपालिका सहकारी शाखा पमुख मधुसुदन घर्तिले नगरभित्रका सबै सहकारीलाई एकै ठाउँ वा विषयगत सहकारीलाई जुटाएर छिटै छलफल गराइने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा अवधारणापत्रमाथि तानसेन बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष भेषराज सुवेदीले सहकारी आन्दोलन, दोहोरो सदस्यता, ऋण लगानीका सीमा, बचत धेरै, सरलीकृत लगानी, उद्देश्य अनुसारका काम नभएको विषयमा छलफल हुनुपर्नेमा जोड दिए। लक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष हरि रायमाझीले नियामक निकायले नै सहकारीका विषयमा छलफल गराउने, अनुगमन गर्ने हो भने सहकारी क्षेत्र सुधारमा सहयोग पुग्ने बताए।
पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीमसेन कार्कीले सहकारीको विश्व तथा नेपालको इतिहासका विषयमा मात्र नभई जिल्लाकै सहकारीको तथ्यांक लिनका लागि समस्या रहेको प्रसंग कोट्याउँदै २०७४ पछि तथ्यांक लिनसमेत असहज भएकाले संघ, प्रदेश र स्थानीय सरकारले सहकारीलाई ध्यान दिनुपर्ने बताए।
मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुदयाल संैजुले सहकारीमा एकरुपता ल्याउन, दोहोरोपना हटाउनका लागि नियामक निकायले नै पहल गर्नुपर्नेमा जोड दिए।
रानीमहल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुगोल बैंजुले तानसेन नगरभित्रका सहकारीबीच नै एकरुपता ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रम श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता, कार्य समिति सदस्य राजेन्द्र लिगलको स्वागत र सहकारीका सचिव भरत शर्माको संचालनमा सम्पन्न भएको हो ।




















