युनाइटेड मिसन अस्पतालम पाल्पामा सिटी स्क्यान’ सुरु हुने

पाल्पा । युनाइटेड मिसन अस्पतालम पाल्पामा सिटी स्क्यान’ सुरु हुने भएको छ । अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । अस्पतालका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार आगामी सातादेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

यूनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै कार्डियक सेवा सहितको १६० स्लाइसको अत्याधुनिक सेवा सुरु गर्न लागेको भट्टराईले बताए। भट्टराईका अनुसार सेवा सञ्चालनमा आएपछि यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन् । २४ सै घण्टा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारु गर्न लागिएको भट्टराईको भनाई छ । सिटी स्क्यान सेवा थप भएसँगै अस्पतालका सेवाग्राहीले उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको अस्पतालले जनाएको छ ।

वि.सं. २०११ सालमा तानसेनमा स्थापना भएको युनाइटेड मिसन अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । हाल अस्पतालमा २० जना विशेषज्ञ चिकित्सिक कार्यरत रहेको सूचना अधिकारी भट्टराईले बताए । अस्पतालले मुटु सम्बन्धी विशेषज्ञ सेवा, मातृशिसु सेवा लगायत अन्य नियमित सेवालाई विस्तार गरेको छ ।

अस्पतालले गत साउनमा प्रसुती सेवा (सुत्केरी सेवा) तर्फ समेत सेवा विस्तार गरेको छ । १६ बेड क्षमताको प्रसुती सेवा सञ्चालन गर्दै आएको अस्पतालले २० बेड र क्याविन समेतको सेवा विस्तार गरेको जनाएको छ । सिटि स्क्यान सेवा सञ्चालनको विशेष कार्यक्रम गरी शुभारम्भ गरिने तयारी रहेको अस्पताल प्रसासनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया