तानसेन। रिब्दीकोटको जलेश्वररमा शिवपुराण महायज्ञ सुरु भएको छ। रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल जलेश्वरमा ११ दिने महायज्ञ सुरु भएको हो। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा महायज्ञ सुरु भएको हो ।
महायज्ञको उद्घाटन समारोहमा बोल्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जलेश्वर मन्दिर क्षेत्रलाई पुण्यभूमि र तपोभूमिका रूपमा विकास गर्न यस महायज्ञले सेतुको काम गर्ने बताए। उनले जलेश्वर क्षेत्र शान्ति र आनन्द प्राप्त हुने पवित्र स्थान भएको उल्लेख गर्दै यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महायज्ञ आयोजना गरिएको बताए । उनले महायज्ञबाट धार्मिक, सास्कृति र पर्यटकीय स्थल निर्माण तथा १०८ शिवलिंग, १०८ गौमुखे धारा, सेन कालीन दरबार स्वरुपमा धर्मशाला तथा गुरुकुल शिक्षालय निर्माण गर्ने उद्देश्य राखिएको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, वडा नं. १ का अध्यक्ष चिरञ्जिवी पोखरेल, ओम प्रसाद पोखरेललगायतले जलेश्वरसंगै समग्र रिब्दीकोटको विकास गरी धार्मिक पर्यटन प्रबर्द्धनका लागि यो महायज्ञले सहयोग गर्ने बताए ।
महायज्ञ अवधिभर प्रमुख वाचक भिमलाल भट्टराईले संगीतपूर्ण शैलीमा शिवपुराणको कथा वाचन गर्नेछन् । माघ २२ गतेदेखि सुरु भएको यो महायज्ञ आगामी फागुन ३ गतेसम्म चल्ने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यले बताए ।






















