मावि स्तरीय रनिङ शिल्ड-‘हाजिरीजवाफ’को उपाधि सेन कपितानियोलाई

तानसेन। पाल्पामा आयोजित माध्यमिक विद्यालयस्तरको रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगितामा सेन्ट कपितानियो स्कुल तानसेन प्रथम भएको छ । पाल्पा आवासीय माध्यमिक विद्यालय तानसेनको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय गणित विज्ञान रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगितामा १३ विद्यालय सहभागी भएकोमा उक्त विद्यालय प्रथम भएको हो।

प्रतियोगितामा जनता मावि तानसेन द्वितिय र माउण्ट भ्याली स्कुल माथागढी तृतीय भएका छन् । प्रतियोगिताबाट प्रथम हुने विद्यालयले रनिङ शिल्ड, प्रमाणपत्र, मेडल तथा पाँच हजार नगद प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने विद्यालयले तीन हजार मेडल प्रमाणपत्र र तृतीय हुने विद्यालयले दुई हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

पहिलो चरणको लिखित प्रतिस्पर्धामा ६ विद्यालय छनोट भएको विद्यालयले जनाएको छ । गत वर्षदेखि सुरू भएको शिल्डको उपाधि पहिला वर्ष तानसेनस्थित बेथल सेकेण्डरी स्कुलले प्राप्त गरेको थियो ।

विद्यार्थीहरुमा गणित तथा विज्ञान शिक्षणतर्फ थप अभिप्रेरित गर्ने उद्देश्यले उक्त रनिङ शिल्ड संचालन गरिएको विद्यालयका प्रअ गोपाल पिसीले जानकारी दिए । उनले विद्यार्थीलाई अतिरिक्त  क्रियाकलापसंगै प्रयोगात्मक शिक्षा र समसामहिक विषयका बारेमा जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आइएको बताए ।

दुई चरणमा चलेको कार्यक्रममा विद्यालयका शिक्षक क्षितिज नेपाल, सुमन न्यौपाने र सुस्मा श्रेष्ठले सहजीकरण गरेका थिए । प्रतियोगिता अतिरिक्त क्रियाकलापतर्फका प्रमुख क्षितिज नेपालको संचालनमा चलेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer