तानसेन। रम्भा गाउँपालिका, ५ को ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे मेशिन जडान भएको छ । गाउँपालिकाको सहयोगमा खरिद गरी एक्सरे मेशिन जडान भएको हो।
मेशनि जडानपछि एक्सरे सेवा शुभारम्भ गर्दै गाउँपालिका रम्भा गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारीले जनतालाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा डिजिटल एक्सरे मेशिन जडान गरिएको बताए। उहाँले ताहुँमा मेडिकल अधिकृतसहतिको सेवा संचालन भएको र ल्याबका साथै एक्सरे सेवासमेत प्रदान गरिएको बताए।
ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको एक्सरे सेवाले हुमीन, पिपलडाँडा, फोक्सिङ्कोटका साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङ, देवीनगर र बीरकोटका केही भागका बासिन्दालेसमेत सेवा लिन पाउने छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्दा स्वास्थ्यको क्षेत्रमा थप सहजता आउने बताए।
वडाध्यक्ष तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त बस्यालले नागरिकलाई सकेसम्म धेरै सेवा सुविधा दिने योजनासहित गाउँपालिका र वडाले काम गर्दै आएको र अहिले सेवामा सुधार भएकामा नागरिक पनि खुसी भएको बताए।
कार्यपालिका सदस्य नानुकुमारी गन्धर्व, रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्याल, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख फिरोज श्रेष्ठ, मेडिकल अधिकृत बीर बहादुर चौधरी, गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख महेश आचार्य लगायतले जनतालाई सेवा सुविधा बिस्तारका क्रममा राखिएको डिजिटल एक्सरेले यस भेगका बासिन्दालाई सेवा प्रदान हुने बताएका थिए ।





















