 
    
    
	
	 	 
	तानसेन। पाल्पामा यो वर्ष एक सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो।
सक्रमित हुनेमा सबैभन्दा धेरै जुन महिनामा ३२ जना रहेका छन। यस्तै जुलाई महिनाको हालसम्म १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिए।
जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत संक्रमण देखिएको छ । परीक्षणको दायरा वृद्धि भएमा संक्रमितको संख्यामा वृद्धि हुने सूचना अधिकारी भट्टराइले बताए ।
यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ ।
गत वर्ष पनि पाल्पामा चार सय बढीमा डेंगु संक्रमण पुष्टि भएको थियो । संक्रमण नियन्त्रणमा लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेपनि संक्रमण बढेको पाइएको छ ।
डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
 
					 
                                         
                                
                          
                                




















