तानसेन। दोस्रो रणउजिरेश्वरी भगवती कप खुलला भलिबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरिएको छ । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी आयोजक संस्था श्रीनगर भलिबल क्लबले प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरेको हो।
खेलकुद पत्रकार मञ्च पाल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा गत साउन २८ गतेदेखि भदौँ १ गतेसम्म तानसेनको टुँडिखेलमा सम्पन्न महिला तथा पुरुष भलिबल प्रतियोगिताको बारेमा श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले कार्यालय र संघसंस्थाबाट दुई लाख २७ हजार, टिकट बिक्रीबाट ४ लाख ९० हजार र आर्थिक सहयोगबाट ८ लाख ३९ हजार ७५० रुपियाँ गरी १५ लाख ५६ हजार ७५० रुपियाँ आम्दानी भएको जानकारी दिए।
प्रतियोगितामा महिला र पुरुषतर्फको पुरस्कार वितरणमा ४ लाख ८३ हजार खर्च भएको छ । यस्तै प्याराफिट निर्माणमा २ लाख ८० हजार, पत्रकार सम्मेलनमा ६५ हजार, अफिसियल खर्च १ लाख ७५ हजार, जर्सीमा ४५ हजार, स्वयमसेवक, खाजा खाना, पन्चेबाजा, अतिथि सम्मान, खेलकुद सामग्री, प्रमाणपत्र र मायाको चिनो, मनोरन्जन करलगायतमा खर्च गरी १५ लाख ४३ हजार ९०५ रुपियाँ खर्च भएको अध्यक्ष आलेले पत्रकार सम्मेलनमा जानकारी दिए । आलेले संस्थाका लागि १२ हजार ८४५ रुपियाँ वचत भएको बताए ।
पाल्पाको तानसेनमा रहेको रणउजिरेश्वरी भगवतीको महिमा प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि क्लबले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष आलेले भलिबल प्रतियोगिता राष्ट्रिय स्तरको भएकाले जिल्लास्थित स्थानीय तहले सहयोग गर्न उनले आग्रह गरे। मुख्य गरी तानसेन नगरपालिकाले अपनत्व लिएर अरु पालिकाले पनि यसको अपनत्व लिनुपर्ने उनले जोड दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पा खेलकुद प्रतियोगिताका लागि उर्वर भूमि रहेकाले खेल क्षेत्रमा सबै पालिकाहरुले लगानी बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रम मन्चका अध्यक्ष माधव अर्यालको अध्यक्षता, श्रीनगर भलिबल क्लबका सचिव दिपक चौहानको स्वागत र खेलकुद पत्रकार मञ्चका सचिव विजयकुमार बौडेलको संचालनमा सम्पन्न भएको हो ।





















