पप माविमा विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र

तानसेन। तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनमा स्थापना गरेको छ ।

बाढी, पहिरो, भूकम्प जस्ता विपदका विषयमा विद्यार्थीलाई ज्ञान दिन श्रोत केन्द्र स्थापना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। उनले केन्द्रमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई भूकम्प, आगलागी, पहिरो, बाढीजस्ता सम्भावित विपद् जोखिमबारे जानकारी, तालिम र अभ्यास गराइने हुँदा विपद्का समयमा अपनाउनुपर्ने सही व्यवहार विद्यार्थीमा विकास हुने विश्वास व्यक्त गरे।

नगर उपप्रमुख प्रतीक्षा सिंजालीले श्रोत केन्द्र स्थापनाले विद्यालयलाई सुरक्षित र सजग शिक्षण वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।  उनले नेपालकै पहिलो अवधारणा स्थानीय सरकारको अग्रसरता र अपनत्वमा सुरु भएको केन्द्रका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग आवश्यक सहकार्य गरिने बताइन।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पाका विपद्जन्य कार्यका लागि योजना बनाएर कार्य गरिरहेको जानकारी दिए । उनले नगरपालिका भित्रका सबै विद्यालयले सिक्ने र सिकाउन सक्ने गरी केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममो विपद् पूर्व तयारी, उद्दार तथा राहत, अल्पिकरण तथा अनुकुलन र पूनर्निर्माण तथा पूनस्र्थापनाका बारेमा विपद् विज्ञ दिपक मरहट्टाले सहजीकरण गरेका थिए ।

नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण बहादुर थापाले नगरपालिकाले हरेक विद्यालयमा विपद् पूर्वतयारीका लागि अभ्यास सहित श्रोत सामग्री राख्ने काम महत्वपूर्ण भएको बताए  । उनले पूर्वतयारी, आपतकालीन योजना, सुरक्षित निकास, प्राथमिक उपचार तथा खोज–उद्धारसम्बन्धी ज्ञान बढ्दा मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताए।

जापान तथा अन्य साझेदार निकायसँग श्रोत केन्द्र व्यवस्थापनका लागि सहकार्य गरिने कार्यक्रमका फोकल पर्सन विष्णु पौडेलले बताए।

तपाईको प्रतिक्रिया