सक्रिय राजनीतिबाट बिदा लिने रानाको घोषणा

तानसेन। एमाले पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । नेकपा एमालेको एघारौं महाधिवेशनको सुरु हुन लाग्दा रानाले सामाजिक संजालमार्फत आफू सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन् ।

रानाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पारिवारिक समस्या देखाएर सक्रिय राजनीतिबाट अलग हुने बताएका छन् । ४५ वर्षदेखि सक्रिय राजनीतिमा रहेका राना १० औं महाधिवेशनपछि राना पोलिटब्युरो सदस्य थिए ।

राना बुटवलमा भएको एमालेको आठौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज हुँदै नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य थिए । दशौं राष्ट्रिय महाधिवेशनपछि पोलिटब्युरो सदस्य तथा भूमि व्यवस्था विभाग इञ्चार्ज थिए । रामपुर नगरपालिका–१, घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१०, कपन विवेकचोक काठमाडौंमा बस्दै आएका राना २०३५। ३६ सालदेखि कम्युनिष्ट पार्टीमा समर्थक थिए ।

राजनीतिको सुरुवाती चरणमा पेशागत संगठन तत्कालीन पारामेडिकल एसोसिएसन (स्वास्थ्यकर्मी संघ) को पाल्पा जिल्ला नेतृत्व गरेका थिए । जातीय सामुदायिक संगठन तत्कालीन लाङ्घाली परिवार (नेपाल मगर संघ) को पाल्पा जिल्ला सचिव हुँदै भूमिगतकालमा दुई वर्ष गुल्मी जिल्ला कमिटी प्रमुख बनेका थिए ।

उनी दुई पटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालीन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सहईन्चार्जसमेत थिए । रानाले पार्टी कामको जिम्मेवारी पूरा गर्ने सिलसिलामा पाल्पा, गुल्मीको साथै नवलपरासी, प्युठान र रुपन्देही जिल्लामा समेत केही समय काम गरेका थिए ।

२०६३ सालमा गठित नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको संस्थापक केन्द्रीय महासचिव तथा नेपाल लोकतान्त्रिक मगर संघको संस्थापक केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनी दुई पटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्य भए । यस्तै राना भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत भएका थिए । रानाले स्टाटसमार्फत सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने उनले प्रतिबद्धता जनाएका छन् ।

हेर्नुहोस उनले लेखेको स्टाटस

जिम्मेवारीबाट मुक्त हुने,
आदरणीय नेता गण,सहकर्मी साथीहरु,कार्यकर्ता,समर्थक तथा शुभचिन्तक मित्रहरु,
म२०३५।२०३६ सालदेखि कम्युनिष्ट पार्टीको शुभचिन्तक,समर्थक हुँदै तत्कालिन नेकपा मालेको सम्पर्कमा आएपछि युथ कम्युनिष्ट लिगमा संगठित भएर औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा आबद्ध भई विभिन्न आरोह अबरोहहरु पार गर्दै क्रियाशील रहने क्रममा जिल्ला मातहतका विभिन्न तहको पार्टी कमिटीमा संगठित भएर जिम्मेवारी बहन गर्दै गएँ। राजनीतिको सुरुवाती चरणमा पेशागत संगठन तत्कालिन पारामेडिकल एशोसियशन९स्वास्थ्य कर्मी संघ०को पाल्पा जिल्ला नेतृत्व र जातीय सामुदायिक संगठन तत्कालिन लाङ्घाली परिवार (नेपाल मगर संघ)को पाल्पा जिल्ला सचिबको जिम्मेवारी पनि सम्हाल्ने काम गरें। जिम्मेवारी थपिंदै जाने क्रममा भूमिगत कालमा दुई वर्ष जति गुल्मी जिल्ला कमिटी प्रमुख, दुईपटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालिन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सह(ईन्चार्ज हुँदै बुटवलमा भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिबेशन देखि केन्द्रिय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह(ईन्चार्ज र नवौं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्य तथा पोलिटब्युरो सदस्य हुँदै एघारौँ राष्ट्रिय महाधिबेशनामा आईपुग्दा हाल पोलिटब्युरो सदस्य तथा भूमिव्यवस्था विभाग ईञ्चार्जको रुपमा जिम्मेवारी बहन गरिरहेको छु। पार्टी कामको जिम्मेवारी पुरा गर्ने सिलसिलामा पाल्पा, गुल्मीको साथै नवलपरासी,प्युठान र रुपन्देही जिल्लामा समेत केही समय काम गर्ने अवसर प्राप्त भयो। सोही क्रममा नेकपा एमाले द्वारा २०६३ सालमा गठित जातीय सामुदायिक संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघको संस्थापक केन्द्रिय महासचिव तथा नेपाल लोकतान्त्रिक मगर संघको संस्थापक केन्द्रिय अध्यक्षको भूमिकामा रहेर पनि काम गरें। मैले पार्टीको चौथो राष्ट्रिय महाधिवेशन देखी एघारौँ राष्ट्रिय महाधिवेशनसम्म लगातार महाधिवेशन प्रतिनिधीको रुपमा भाग लिने अवसर पनि प्राप्त गरेको छु। नेता, कार्यकर्ता, मतदाता, समर्थक, शुभचिन्तकहरुको साथ र सहयोगमा जनप्रतिनिधीको रुपमा एकपटक वार्ड अध्यक्ष भएँ, दुई पटक प्रतिनिनिसभा सदस्य र एकपटक संविधानसभा सदस्य गरी तिनै पटक प्रत्यक्ष निर्वाचनबाट निर्बाचित भएँ। छोटो अवधिको लागि भएपनि एकपटक भूमिसुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी निर्वाह गर्ने अवसर पनि पाएँ। हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रीयता पूर्बक काम गर्न सक्ने अबस्था नभएकोले भोली २०८२साल मङ्सिर २७।२९ सम्म काठमाण्डौमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जिबनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश,जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु। मेरो लगभग ४५ वर्षको सक्रिय राजनीतिक यात्रामा मैले स्मरण गर्न सके सम्म कुनै कार्यकर्ताहरु माथि पुर्बाग्रह पूर्ण, दुरासय पूर्ण र अन्याय पूर्ण ब्यबहार गरेको छैन भन्ने कुरामा म विस्वस्त छु। तथापि पार्टीको हितमा निर्णय लिनु पर्दा, कमिटी निर्णय पालन गर्ने गराउने क्रममा, कतिपय बेला प्राथमिकता निर्धारण गरेर निर्णय लिनु पर्ने अवस्था र निर्णयमा पुग्नुका सबै विवरण पार्टी गोपनियताको कारणले जानकारी गराउन नमिलेको अवस्थाले कसै माथि अन्याय भएको अनुभूत भएको छ भने म व्यक्तिगत रुपमा क्षेमा प्रार्थी छु। मलाई पार्टी र जनप्रतिनिधीको यो भूमिका सम्म पुर्याउन योगदान गर्नु हुने सम्पुर्ण नेता,सहकर्मी साथीहरु,आम कार्यकर्ता,मतदाता,समर्थक तथा शुभचिन्तक मित्रहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु। अन्तमा यो एघारौँ महाधिबेशन, नेकपा एमालेलाई बर्तमान देशको जटिल राजनीतिक परिस्थितिको सामना गर्न सक्ने निर्णायक राष्ट्रिय शक्तिको रुपमा पुन स्थापित गर्न, सक्षम नेतृत्व निर्माण गर्दै ऐतिहासिक र भव्य रुपमा सफल रहोस्, यही हार्दिक शुभकामना व्यक्त गर्दछु।
दल बहादुर राना, नेकपा एमाले पोलिटब्युरो सदस्य
ठेगाना( रामपुर नगरपालिका वडा नं १ पाल्पा,
हाल( बुढानिलकण्ठ नपा १० कपन बिबेक चोक काठमाण्डौ

तपाईको प्रतिक्रिया