पाल्पाली स्रष्टाले बनाएको, पाल्पामा पनि खिचिएको चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आयो

तानसेन। पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ देशभरका हलमा प्रदर्शनमा आएको छ ।

देश तथा विदेशका विभिन्न ठाउँसंगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको तेस्रो चलचित्र ‘परदेशी २’ वडादशैंको अवसर पारेर देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो ।

पाल्पाको माथागढी गाउँपालिकाको झडेवा, देवगीर, कसेनी, सराई लगायतका स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

चलचित्र छायाँकनका क्रममा निर्देशक रायमाझीसहित अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्री केकी अधिकारी लगायतका कलाकारहरु पाल्पा आएका थिए ।

पाल्पाको झडेवामा जन्मिएका निर्देशक रायमाझीले आफ्ना यसअघिका दुई चलचित्र पनि पाल्पामा छायाँकन गरेका थिए ।

ति दुवै चलचित्र देशभरसँगै तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि लामो समय प्रदर्शन भएका थिए । ‘परदेशी २’ पनि देशभरसँगै तानसेनमा समेत लामो समय चल्ने विश्वास निर्देशक रायमाझीले लिएका छन् ।

दर्शकहरुको रुचिलाई ध्यानमा राखेर सन्तोष चलचित्र मन्दिरमा यो चलचित्र दैनिक ३ शो प्रदर्शन हुने हलले जानकारी दिएको छ ।

बिहान ११ः१५ बजे, दिउँसो २ः१५ बजे र बेलुका ५ः१५ बजे चलचित्र प्रदर्शन हुने हलका संचालक सर्जुमान लिगलले जानकारी दिएका छन् ।

युवापुस्तामा रहेको विदेश मोह र त्यसले घरपरिवारमा पारेको प्रभावको कथामा ‘परदेशी २’ बनेको हो ।

नारायण रायमाझी र राजेश वंशल मिलेर चलचित्रको निर्माण गरेका हुन् । यो चलचित्रमा केही पाल्पाली कलाकारहरु समेत देखिएका छन् । चलचित्र प्रदर्शनको समयमा पाल्पाली दर्शकलाई भेटन तानसेन आउने योजना समेत निर्देशक रायमाझीले बनाएका छन् ।

गायनमा निकै रुचाइएका प्रकाश सपूतको पहिलो चलचित्र भएका कारण ‘परदेशी २’लाई निकै चासोका साथ हेरिएको छ । त्यसमाथि सफल चलचित्रको दोस्रो श्रृङखला, हिट चलचित्र दिएका निर्देशक, चलेका कलाकारहरुको अभिनय रहेका कारण ‘परदेशी २’ सुपरहिट हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer