तानसेन। पूर्वखोला गाउँपालिका भित्रका ६० जना नागरिकले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेका छन् । गाउँपालिकाले पाल्पा लायन्स लाकाैल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको निः शुल्क आँखा परीक्षण शिविर पश्चात मोतियाविन्दु देखिएका नागरिकको निःशुल्क शल्यक्रिया गराएको हो।
चैत्र ९ गतेदेखि १८ गतेसम्म दुई चरणमा वडामा सञ्चालित शिविरमा एक हजार ९३ जनाको आँखा परीक्षण गर्दा फेला परेका ९२ जना बिरामीमध्ये रिङ्नेरह स्वास्थ्य चौकीमा शल्यक्रिय शिविरमार्फत ६० जनाले सेवा लिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
शिविर पश्चात गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले नागरिकलाई अन्धोपनको जोखिमबाट जोगाउन घरदैलोमै सेवा पु¥याउन पालिका क्रियाशील रहेको बताए। उनले विगतका वर्षदेखि नै ग्रामीण भेगका विपन्न नागरिकहरू अस्पतालसम्म पुग्न नसकेर अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्यका लागि बजेट निवियोजन गरेर नियमित रुपमा गाउँमै शिविर संचालन गरिदै आएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउँपालिकाले स्वास्थ्यका लागि विनियोजन गरेको बजेट र मेहनतको सही सदुपयोग भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्य सेवाका लागि पालिकाले योजनाबद्ध रुपमा काम गरेको बताए।
स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले उमेर बढ्दै जाँदा हुने मोतियाविन्दु नै नेपालमा अन्धोपनको मुख्य कारण बनेको बताए ।
विगतका वर्षहरुको अनुभवले पनि मोतियाविन्दुको शल्यक्रिया नै प्रभावकारिता उपाए भएको जनाउदै समयमै शल्यक्रिया गरे यो पूर्ण रूपमा निको हुने भएकोले शल्यक्रिया शिविर आयोजना गरिएको शाखा प्रमुख ढकालले जानकारी दिए ।
शिविरमा शल्यक्रियादेखि चश्मा र औषधिसमेत निः शुल्क वितरण गरिएको थियो । वर्षौँदेखि धमिलो संसार हेर्न बाध्य स्थानीय नागरिकहरू गाउँमै विशेषज्ञ डाक्टरबाट शल्यक्रिया गराई पट्टी खोल्दा पुनः स्पष्ट देख्न सक्ने भएपछि खुसी भएका छन् ।
शल्यक्रियापछि उज्यालो संसार देख्न पाउँदा कतिपयले स्थानीय सरकार आएको बल्ल महसुस भएको बताएका छन् । स्थानीयले आखा परीक्षणका लागि दिन बिताएर सदरमुकाम जानुपर्ने र शल्यक्रिया गर्दा पैसासमेत खर्च हुने अवस्थामा स्थानीय सरकारले गाउँमै शिविर संचालन गरेपछि समय र पैसा दुवैको वचत भएकोमा खुसी व्यक्त गरेका छन् ।

