ठेकेदारहरूले कमिसनका लागि प्रस्ताव गर्छन् ; मन्त्री तिमिल्सिना

पाल्पा । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मेजय तिमिल्सिनाले प्रदेशका नीति तथा योजनाहरू कार्यान्वयन गर्ने क्रममा आउने विभिन्न चुनौती र भ्रष्टाचारप्रति आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्। नेपाल प्रेस युनियन पाल्पाले आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले अन्य मन्त्री तथा ठेकेदारहरूले आफूलाई कमिसनका लागि प्रस्ताव गरेको खुलासा गरेका छन्।

उनका अनुसार केही मन्त्रीहरूले ूनयाँ हुनुहुन्छ, विस्तारै सिकिन्छू भन्दै गलत बाटो अपनाउन दबाब दिने प्रयास गरेका छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि यस्तो गतिविधि आफूले स्वीकार नगर्ने र जनताको हितलाई प्राथमिकता दिनेछन्।

मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई पनि कुनै दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन्। यदि कसैले आफ्नो जिम्मेवारी पूरा गर्न नसके, पद खाली गर्नुपर्ने चेतावनीसमेत दिएका छन्।

शिक्षाको महत्त्वलाई जोड दिँदै उनले लुम्बिनी प्रदेशका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने आफ्नो उद्देश्य रहेको बताए। हाल लुम्बिनी प्रदेशका २,८०४ विद्यालय कुनै सुविधा नलिएको तथ्यलाई उजागर गर्दै उनले सबै विद्यालयलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन पहल गरिरहेको उल्लेख गरे।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer