पाल्पा । रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युवराज थापाले महिलाहरुद्दारा सञ्चालित सहकारीले आर्थिक रुपमा महिलाहरूलाई शसक्तीकरण गर्न महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
रैनादेवी छहरा गाउँपालिका ५ स्थित कालिका महिला विकास बहुउद्देश्य सहकारी संस्थाको १८औं साधारण सभा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष थापाले सहकारी मार्फत महिलाहरूले आत्मनिर्भर बन्ने अवसर पाएको बताए । गणतन्त्र आएपछि महिलाहरु सामाजिक, राजनैतिक तथा शैक्षिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेकोले समाजमा सकारात्मक प्रगति भइरहेको उपाध्यक्ष थापाले बताए ।

कार्यक्रमको विशिष्ट अतिथिमा वडा नम्बर ५ का वडा अध्यक्ष हुमान सिंह कार्कीले सहकारीले समुदायका महिलाहरूलाई आयआर्जनका नयाँ बाटोहरू देखाएको बताए । वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप पौडेलले महिलाहरूले आयआर्जनमा उत्कृष्ट प्रगति गर्दै पुरुष भन्दा सक्षम हुँदै गएकोमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा सेवा नेपालकी केन्द्रीय सदस्य शारदा रायमाझी, कार्यपालिका सदस्य गीता राना, सहकारी संस्थाका जग्गादाता चिनाकुमारी कार्की तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहकारीले गरेका कामहरूको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सहकारीका उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन लेखा संयोजक भावना कुँवरले गर्नुभएको थियो । साधारण सभामा सहकारीको वार्षिक प्रगतिहरूको समीक्षा गर्दै आगामी योजना प्रस्तुत गरिएको थियो ।





















