तानसेन। पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आधा भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका हुने गरेको पाइएको हो।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा एक हजार ३ सय ५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ४ सय ४३ र २०८०/८१ मा ४ सय २८ मुद्दा दर्ता भएको थिए। गएको आर्थिक वर्षमा कुल ८ सय १५ मुद्दा दर्ता भएकामा चार सय ८५ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको पाल्पा अदालतका स्रेस्तेदार केशव पराजुलीले बताए । सम्बन्ध विच्छेदका मुद्दामध्ये ४०४ वटा फैसला भइ ८१ वटा बाकीँ रहेकाे स्रेस्तेदार पराजुलीले बताए ।
सम्बन्ध विच्छेदका मुद्धामा अधिकांश कम उमेरमा विवाह गरी आपसी असमजदारी भएका, वैदेशिक रोजगारीमा जाने युवायुवतीको सम्बन्ध विग्रिएका तथा अध्ययन र कामका लागि विदेश जानका लागि गसिएको सम्बन्धहरु तोड्नेहरु रहेको पाइएको छ ।
अदालतका सूचना अधिकारी रामप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैवाहिक सम्बन्ध अन्त्यका लागि समेत २७ जना जिल्ला अदालतमा आएका थिए ।
मोबाइल फोन र सूचना प्रविधिको दुरुपयोग, वैदेशिक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल, विवाहति महिला पुरुष परपुरुष र परस्त्रीसंगको सम्बन्ध गास्ने गरेका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ ।
यसैबीच ल्लिा अदालत पाल्पाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा १०९ वटा बढी मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा ७ सय ६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकामा ८ सय १५ वटा मुद्दा फर्छ्यौट गरी लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
जसमा आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आएका २ सय ७० मुद्दा र नयाँ दर्ता भएका ८ सय १४ मुद्दा गरी जम्मा १ हजार ८४ मुद्दामध्ये ८ सय १५ वटा मुद्दा फैसला गरी किनारा लागेको जानकारी दिए । कुल मुद्दा संख्याको ७५ दशमलव १८ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।





















