पाल्पा। जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा पाल्पाका सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी सोमबार सुरु भएको छ ।
जिल्लाका सरकारी कार्यालयहरूले वर्षभरि सञ्चालन गरेका कार्यक्रमहरूको प्रतिफलको खोजी गर्दै आगामी वर्षका कार्यक्रमहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यका साथ समीक्षा कार्यक्रम हुँदै आएको छ ।
वार्षिक प्रगति समीक्षा गोष्ठीकोे पहिलो दिन पाल्पाका स्थानीय तहले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए तर, दलका प्रमुख तथा प्रतिनिधिहरुले स्थानीय तहले बर्षभरि सञ्चालित कार्यक्रमले वित्तीय प्रगति र भौतिक प्रगति सन्तोषजनक देखिएपनि नागरिकका अपेक्षा पुरा हुनै नसकेको टिप्पणी छ ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले गत आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास निर्माण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि लगायतका कार्यक्रमहरूको विस्तृत जानकारी दिएका थिए । उनीहरूले कार्यक्रमहरूको उपलब्धि, चुनौती र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे पनि प्रकाश पारेका थिए । वार्षिक प्रगति समीक्षा गोष्ठीमा पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका लगायतले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । पाल्पाका स्थानीय तहका कृषि र पशुपालनका क्षेत्रमा राम्रो काम गरेको देखिएको छ । सडकको अवस्था नाजुक रहेको छ ।
पाल्पाको सिद्धबाबा क्षेत्रको सडकको सधैको जोखिम रहेको समीक्षाका सहभागिले प्रश्न उठाएका थिए । पाल्पामा अधिकाँश नागरिक खानेपानीको पहुँचमा पुगेपनि शुद्ध खानेपानीको मापन हुन नसकेको देखिएको छ ।
स्थानीय तहबाट सार्वजनिक गरिएको कार्यक्रमहरुमा वित्तीय प्रगति र भौतिक प्रगति सन्तोषजनक देखिए पनि व्यवहारिक रुपमा नागरिकका समस्या जस्ताको तेस्तै देखिएको बताएका छन् । लाखौं रकम खर्चिएपनि रोजगारीका अवसर र स्वरोजगारहरु प्राप्त मात्रमा सिर्जना हुन समीक्षाका सहभागीले बताएका छन् ।
कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका सभापति टंक खनालको अध्यक्षता र प्रतिनिधिसभा सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।गोष्ठीको समापन बुधबार हुने छ ।





















