तानसेन। तानसेन खानेपानी उपभोक्ता समितिले खरायो गतिमा काम गर्न खोज्दा केही कमजोरी भएको जनाएको छ। मंगलबार पत्रकारहरुसंगको छलफलमा समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले सो कुरा बताएका हुन् ।
समितिको काम कर्तव्य र अधिकारका विषयमा केही सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि आयाजित पत्रकारसंगको छलफलमा अध्यक्ष श्रेष्ठले भने, “संवेदनशील काम गर्दै गर्दा प्रक्रियामा केही तलमाथी भए होला तर, नियतबस भएको हैन।, हिजाेको प्रताणित अवस्थामा दश वर्षको काम तीन वर्षमा गर्नुपर्छ, तीन वर्षले ३० वर्षको खाका कोर्नुपर्छ भन्ने हिसाबले हामी अघि गएकै हो ।”
“कछुवाको गतिमा हैन की खरायोको गतिमा काम गर्नुपर्छ भन्ने उद्देश्यले हामी अघि बढेकै हो । जसले गर्दा केही कमी कमजोरी भएको हुन् सक्छ।” अध्यक्ष श्रेष्ठले भने।
पानीको वितरण सहज बनाएपछि समितिले अन्य कामहरु गर्दै आएको उल्लेख गरे । उनले भने- “कार्यालय व्यवस्थापनमा भएको खर्च, कर्मचारी नियुक्ती, सचिवालय व्यवस्थापन र खरिद प्रक्रिया, डिपिआर निर्माण, कल्याण्कारी कोषको रकम वितरण जस्ता विषयमा बारेमा प्रश्नहरु उठेका छन्। हामी आगामी दिनमा सच्चिएर अघि बढ्छौं।” आवश्यकता र आगामी समितिलाई पनि काम गर्न सहज होस् भन्ने उघेश्यले काम गरिएको उनले दावी गरे।
पत्रकारसंग भएको खुल्ला छलफलमा उपभोक्ता समितिले कार्यसम्पादन गर्दा समितिको विद्यान, सार्वजनिक खरिद ऐन र अन्य कानुनी विधि, प्रक्रियालाई ध्यानमा राखेर काम गर्न सुझाव दिएका थिए । सहभागी पत्रकारहरुले समितिको मुख्य कार्य खानेपानी वितरणलाई सहज, नियमित र सहुलियत दरमा वितरण गर्ने भएको भएपनि समितिले अन्य काममा अग्रसरता देखाउन विधानसम्वत नभएको बताएका थिए ।
छलफलमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष, कमलराज तिमिल्सिना, निर्वतमान अध्यक्ष रेखीराम राना, पत्रकार जगदिस भट्टराई, कृष्ण दर्नाल, कृष्ण कार्की, भरत शर्मा, रामचन्द्र नेपाल, नारायण न्यौपानेलगायतले तानसेन खानेपानी उपभोक्ता समितिले ग्राहकबाट उठाएको शुल्कबाट ग्राहकको हितमा भन्दा फरक ढंगबाट भएका कामले समितिमाथि प्रश्न उठेको बताएका थिए । उनीहरुले संस्थाको विधान र कानुनी प्रक्रिया मिचेर कुनै पनि काम गर्नु गलत रहेको हुँदा सच्चिएर काम गर्न समितिलाई सुझाव दिएका थिए।





















