पाल्पा । पाल्पाको रैनादेवी छहरा-३, भुवनपोखरीमा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको यस कार्यक्रमले लोप हुँदै गएको परम्परागत तीज संस्कृतिलाई संरक्षण गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा भुवनपोखरीका ५ वटा महिला समूहले भाग लिएका थिए। उनीहरूले परम्परागत लय र भाकामा तयार पारिएका गीतहरू मार्फत स्थानीय सरकारसँग विभिन्न माग र सुझावहरू प्रस्तुत गरेका थिए। जसमा बाँदर, बँदेललगायत जंगली जनावरको नियन्त्रण, बसाइँसराइ रोक्न, महिला हिंसा र बलात्कारजस्ता घटनामा गम्भीर बन्न, तथा अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने विषयहरू समावेश थिए।
कार्यक्रममा सहभागी महिला समूहहरूले भुवनपोखरीमा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य र वडा सरकारका कामहरूलाई पनि गीत मार्फत उजागर गरेका थिए। उनीहरूको प्रस्तुतिमा स्थानीय दिदीबहिनीहरू छमछम नाचेर दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए।कार्यक्रम रैनादेबी छहरा अध्यक्ष रुकमाङ्गत भट्टराईले तीज गीत प्रतियोगिताले स्थानीय संस्कृति संरक्षणमा योगदान पुग्ने बताए ।
वडा अध्यक्ष प्रदीप पौडेलले तीज पर्वको शुभकामना दिँदै पछिल्ला वर्षहरूमा तीज गीतका नाममा छाडापन र संस्कृतिभन्दा बाहिरका विषयहरू हावी भएकोले मौलिकता जोगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए। उनले तीज पर्वलाई पुरानै लयमा फर्काउन भुवनपोखरीले एउटा अभियानको थालनी गरेको जानकारी दिए।
कार्यक्रममा जनजागृति आधारभूत विद्यालय पेलाबास प्रथम, कैलाशपुर आमा समूह द्वितीय र शिखरपोखरी स्वास्थ्य समूह बल्घा तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः १०,०००, ८,००० र ६,००० रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी अन्य समूहलाई यातायात खर्चबापत १,००० रुपैयाँ प्रदान गरिएको थियो।
रैनादेवी छहराका अध्यक्ष रुकमाङ्गत भट्टराईको प्रमुख आतिथ्य र वडा अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलको नेतृत्व निशा पाण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन गिरिराज पौडेलले गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, आमा समूह, विद्यालयका प्रतिनिधि र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।





















