अपडेटः ईभी दुर्घटनाको पूरा विवरण

तानसेन। पाल्पामा बुधबार दिउँसो भएको इभी गाडी दुर्घटना चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं.२ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं.४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद चौधरीले जानकारी दिए।

रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो। बुटवलबाट छहराको मेहलढापका लागि छुटेको लु प्रदेश ०१ ००१ ज ००९१ नम्बरको ईभी गाडी बुधबार दिउँसो २ः १० बजेतिर दुर्घटना भएको थियो ।

मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेपनि सवारी सडकबाट करिब तीन सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रह्रीले जनाएको छ ।

तपाईको प्रतिक्रिया