 
    
    
	
	 	 
	तानसेन । दशैं र तिहार पर्व मनाएर धानबाली भित्र्याउने तयारीमा जुटेका पाल्पाका किसानले काटेको धान लगातारको वर्षाले खेतमै डुबाएको छ । लगातरको झरीका कारण जिल्लाको अन्नभण्डार मानिने माडीफाटसंगै अन्य फाट र टारी खेतमा काटेर सुकाउन पाजो राखेको धान डुबेपछि किसान समस्यामा परेका हुन् ।
झरीले सुकाउन राखेको धानबाली भिज्ने मात्रै नभएर खेतमै उम्रिने हो की भन्ने चिन्ता बढेको किसानको भनाइ छ। बिहीबार बिहानैदेखि लगातार पानी परेपछि पाल्पाको माडीसंगै रामपुर, कचल, अर्गली, पूर्वखोला, गेझा, झडेवा, तिनाउ, सर्देवा, गल्धाफाँट र जिल्लाभरका टारी खेतमा काटेर राखेको धान भिजेको हो ।
काटेका धान खेतमै उम्रिने अवस्था बनेपछि स्याहार्न नपाउने हो कि भनेर चिन्ता थपिएको बगनासकाली २ का किसान सान्ती गैरेले बताउनुभयो। वर्षभरी खाने अन्न स्याहार्ने बेलामा पानी पर्दा खेतमै धान उम्रिने अवस्था आएपछि खाद्यान्नको समस्या हुने चिन्तामा किसान परेका छन् । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार पाल्पामा यो वर्ष आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो ।
जिल्लाका अधिकांश स्थानका किसानलाई यतिबेला धान स्याहार्ने चटारोमा हुने भएपनि अहिले डुवान र भिजेको धान टुलुटुलु हेरेर बस्नु परेको दुखेसो गरेका छन् ।
 
					 
                                         
                                
                          
                                




















