असार १५ धान दिवस

“छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला”

रामपुर । आज असार १५ राष्ट्रिय धान दिवस “मानो रोपेर मुरि उब्जाउने दिन” हो तर, कोरोना कारण यस बर्ष धान दिबस औपचारिकतामा सिमित बनेको छ । कोरोना भाइरसका कारण धान दिबस उत्साहजक रुपमा मनाउने सम्भावना न्यून रहेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा २०६१ मँसिर २९ गतेको मन्त्री स्तरीय निर्णयबाट असार १५ लाई धान दिवसको रूपमा मनाउन सुरु गरिएको थियो । नेपाल कृषिप्रधान देश भएका कारणले पनि असार १५ लाई बिशेष दिनको रूपमा लिइएको हो ।

निस्दी गाउपालिकामा कृषि ज्ञान केन्द्रद्वारा धान दिवस मनाइने भएको छ । स्वास्थ्य मापदण्ड पालन गरी किसान धान रोपाइ गरिरहेका छन् ।

कृषि बिभागले तयार पारेको प्रोटोकल अनुसार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । बर्सेनि एकअर्कालाई हिलो छ्यापेर यो महोत्सव मनाएपछि यस बर्ष हिलो छ्याप्न नपाइने भएको छ ।

नेपालका अधिकाँश मानिस कृषि पेशामा निर्भर रहेकाले यो महिनालाई किसानले बर्षभरका लागि छाँक जुटाउने महिनाको रूपमा लिन्छन् । असार महिना देखि धान रोप्न कृषकहरु ब्यस्त रहन्छन् ।आजका दिन असारे भाकाहरु पनि रोपाइँमा घन्कने गर्छन् ।

“छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाइ कुलो लगाइ पानी आएर गोडौला” भन्ने जस्ता असारे भाका संगै पञ्चै बाजाका तालमा रोपाइ समेत गर्ने गरिन्छ ।पाल्पाको माडी फाँटमा पञ्चेबाजा बजाई रोपाइँ गरिसेकेका छन् । जिल्लाका अधिकाँश स्थानमा धानबाली रोपाई सकिएको छ ।

जेष्ठ महिनामा नै वर्षा भएपनि किसानहरुले असार पहिलो हप्तादेखि रोपाइँ सुरु गरेको देखिएको छ।

बर्खामासको यो समयमा गर्मीसंगै खेतमा रोपाइँका लागि आएका खेतालाहरुले एकअर्कालाई खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन लिने पनि गर्दछन । दिनभरीको खेतको कामको चटारोले थकित भएका किसान दहि च्युरा खाएर शक्ति प्राप्त गर्ने गरेका छन ।

यसबेला दहि च्युराले शरीरमा शितलता भइ शक्ति सन्चय हुने बिश्वास गरिन्छ । हिजो आज यो दिनलाई दहि च्युरा खाने महिनाको रुपमा पनि लिने चलन रही आएको छ ।

खेतीपाती गरेका कृषकहरु बाहेक अन्य पेशा गर्दै र व्यबसाय अंगाल्दै आएका नेपालीहरुले असार १५ लाई दहि च्युरा खाने पर्बका रुपमा मनाउदै आएका छन ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेका अनुसार यस बर्ष १८०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने बताए । मकै खेती गरिएका खेतमा अहिले धान रोपाइ अहिले २-४ प्रतिशत मात्रै सुरु भएको र साउन महिनामा सबैलाई रोपाइँ सम्पन्न हुने पाण्डेको भनाई छ ।

रामपुर नगरपालिका क्षेत्रमा साबित्री, सावा र उन्नत जातका हाइब्रेड जातका धान लगाइने भएको छ ।

कोरोनाको कारण कामदार नपाइने, धान खेतिका लागि औषधिहरु नपाइने भएकाले पनि धान उत्पादनमा ह्रास आउला जस्तो छ स्थानीय कृषक बिनोद श्रेष्ठ बताए ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer