मिसन अस्पतालमा डेंगु संक्रमित महिलाको मृत्यु

तानसेन। पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं.–६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् ।

गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

डेंगु संक्रमण पुष्टी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गर्दै महिला पुनः स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा आएकोमा आइतबार बेलुका मृत्यु भएको हो।

यसैबीच पाल्पामा पछिल्लो समय डेंगुका संक्रमित बढेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन महिला लागेयता मात्रै १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।

जिल्लामा पाल्पा र रामपुर अस्पतलसंगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन, रामपुर आर्यभञ्जांग, सराईलगायतका स्थानमा रहेका निजी स्वास्थ्य संस्थालेसमेत डेंगु परीक्षण गर्ने हुँदा हाल जिल्लामा संक्रमितहरु अझै धेरै हुनसक्ने बताइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार परीक्षणको दायरा वृद्धि गरेर तथा सचेतना फैलाएर डेंगु रोगको संक्रमणलाई कम गर्न सबै स्थानीय तहलाई अनुरोध समेत गरिदै आएको छ ।

पाल्पामा सन् २०२१ मा १४ जनामा संक्रमण देखिएकोमा २०२२ मा दुई सय ३३ जना, तथा २०२३ को हालसम्म ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयसंग तथ्यांक रहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण वर्षायामदेखि सुरु हुने गर्दछ। विगतमा तराईँमा मात्रै देखिने यो रोगको संक्रमण पछिल्लो वर्षमा पहाडमा समेत बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer