माथागढीमा आत्महत्या, सडक दुर्घटना र मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा आत्महत्या न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण तथा नसर्ने रोग एवं मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. ३ कसेनी वडा सभाहलमा आयोजित कार्यक्रममा बोल्दै  गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले पछिल्लो समय समुदायस्तरमै मानसिक स्वास्थ्य समस्या, आत्महत्या जोखिम, सडक दुर्घटना तथा नसर्ने रोगहरू बढ्दो चुनौतीका रूपमा देखिएको हुँदा अभिमुखीकरण  कार्यक्रम आयोजना गरेकाे बताए । अध्यक्ष चिदीले स्थानीय स्वास्थ्यमा पालिका गम्भीर भएकाे बताउँदै यस्ता समस्याको न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय, जनचेतना अभिवृद्धि तथा समयमै पहिचान, परामर्श र उपचार सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले पछिल्लाे समय बढ्दाे चुनाैतीका रूपमा रहेकाे मानसिक स्वास्थ्य समस्या, आत्महत्या जोखिम, सडक दुर्घटना तथा नसर्ने रोगहरूको बारेमा बेलैमा जानकार भएर खानापन तथा जीवनशैली सुधार गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य लिला सरा चिदी, वडा सदस्य मान बहादुर राना, पाल्पा अस्पताल का मेडिकल अधिकृत डा. वर्षा थापा, गाउँपालिकाका स्वास्थ्य प्रमुख केशब बहादुर जी.सी. तथा प्रहरी चौकी सराईका प्रमुख विजय खड्का लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, टोल संयोजक, विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अभिमुखीकरण सत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब बहादुर जी.सी. र डा. वर्षा थापाले सहजीकरण गर्दै आत्महत्या रोकथामका उपाय, मानसिक स्वास्थ्यको महत्त्व, सडक दुर्घटना न्यूनीकरणका रणनीतिहरू तथा उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोगहरूको पहिचान, नियन्त्रण र व्यवस्थापनबारे जानकारी दिएका थिए।

कार्यक्रमसँगै सहभागीहरूलाई निःशुल्क सुगर तथा रक्तचाप परीक्षण सेवा समेत प्रदान गरिएको थियो। साथै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि र समयमै स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको