पाल्पामा फैलियो आँखा पाक्ने रोग, विद्यार्थीहरु धेरै प्रभावित

तानसेन।  पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण दैनिक रुपमा बढेको छ। अन्य जिल्लामा जस्तै पाल्पामा पनि पछिल्लो दुई सातादेखि दैनिक यस्तो रोगका बिरामी बढेका हुन् । जिल्ला सदरमुकाम तानसेनसंगै, रामपुर, रैनादेवी छहरा, प्रभासलगायत जिल्लभर नै आँखा पाक्ने रोगका संक्रमित बढेका हुन् ।

पछिल्ला दिनहरुमा संक्रमित बिरामीको संख्या बढेपछि पाल्पा लायन्स लाकौल आँखा अस्पतालले छुट्टै (रेड आई क्लिनिक) क्लिनिकबाट बिरामीको परीक्षण र उपचार गर्न सुरु गरेको छ ।

आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढेपछि गत बिहीबारदेखि हालसम्म झन्डै तीनसय बिरामीको उपचार गरिएको अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिए ।

क्लिनिकबाट बिहीवार, ७२ जना, शुक्रबार ८६ , आइतबार १५४ तथा सोमबार ८० जनाबढी बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा सबै उमर समूहका मानिसहरु रहेपनि स्कुले विद्यार्थीहरु धेरै संक्रमित रहेको सूचना अधिकारी गैरेले बताए ।

तानसेनको जनता मावि, भुसलडाडाँ मावि, सेन क्यापितानियोलगायतका स्कुलबाट दैनिक रुपमा संक्रमित विद्यार्थी उपचारका लागि अस्पतालमा आएको उनले बताए ।

यसैबीच आँखा पाक्ने रोगको संक्रमण दैनि रुपमा बढेसंगै उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको हुँदा औषधिको समेत अभाव सृजना हुन लागेको लायन्स लाकौल आँखा अस्पतालले जनाएको छ ।

पाल्पामा पाल्पा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक रुपमा यस्ता रोगका बिरामीहरु बढेको अस्पतालहरुले जनाएका छन् ।

यो रोगको संक्रमणबाट आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ।

यस्तो रोगको संक्रमण आँखाबाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको संम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुन जस्ता उपाए अपनाउन पनि चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer