रिब्दीकोटका स्वास्थ्य शाखाको वार्षिक समीक्षा

तानसेन।  रिब्दीकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा गरेको कामको वार्षिक समीक्षा गरेको छ । स्वास्थ्य शाखाले आठ वटा वडामा रहेको ११ वटा स्वास्थ्य संस्थाको कार्य विवरणसहित गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रगती र समग्र पालिकाको स्वास्थ्य अवस्थाबारे समीक्षा गरेको हो।

समीक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले स्वास्थ्य संस्थाले प्रत्येक वर्षमा कार्यप्रगति र समीक्षा गर्नुपर्ने बताए । उनले विभिन्न महामारी जन्य रोगको प्रकोप तथा अन्य सामान्य रोगको परीक्षण र उपचारमा पनि स्वास्थ्यकर्मी सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

यस्तै स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुकप्रसाद पोखरेलले पालिकाले दिने तथ्यांक सत्यतथ्य हुनुपर्ने बताए । उनले मानव स्वास्थ्यसंग जोडिएका विषयको सामान्य रुपमा गलत सूचना र तथ्यांक सार्वजनिक भएमा त्यसले नकारात्कम सन्देश जाने हुँदा चनाखो हुन पनि सबै स्वास्थयकर्मीलाई आग्रह गरे ।

सो अवसरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले सबै स्वास्थ्य संस्थाबाट नागरिक मैत्री स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिए ।  उनले पालिकामा मापदण्ड बमोजिमका ६ वटा स्वास्थ्य संस्थाका भवन रहेकाे बताए। ७२ जना स्वास्थ्य स्वय्मसेविका रहेको पालिकामा २८ वटा खोप केन्द्र रहेको छ भने २१ स्थान बाट गाउँघर क्लिनिक सञ्चालन भइरहेको उनले जानकारी दिए।

पालिकामा रहेका पाँच वटा वर्थिङ्ग सेन्टरबाट सुत्केरी सेवा, ३ स्थानमा सुरक्षित गर्भपतन सेवा र  परिवार नियोजनका साधन लगाउने तथा एउटामा ल्याबसहितको सेवा उपलब्ध गराएको शाखा प्रमुख अधिकारीले बताए । यस्तै नेपाल सरकारले उपलब्ध गराउने ९८ थरिका निः शुल्क उपलब्ध हुने औषधिको व्यवस्था, सबै स्वास्थ्य संस्थामा रहेको र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट दैनिक ६० जना भन्दा धेरै नागरिकले सेवा लिदै आएको प्रमुख अधिकारीले बताए ।

यस्तै गाउँघर क्लिनिक तथा अन्य रुपमा समृत नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउदै आएको गाउँपालिकाले जनाएको छ। उक्त कार्यक्रममा सबै स्वास्थ्य संस्थाका प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रम गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक सुनिल बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer