पाल्पामा २४० बढीमा डेंगु संक्रमण

तानसेन। पाल्पामा यो वर्षमात्रै दुई सय ४० जना भन्दा धेरैमा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका चार ठूला अस्पतामा गरिएको परीक्षणमा एक सय ८६ जना तथा निजी क्लिनिक, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकलहरुबाट प्राप्त तथ्यांक अनुसार ५४ जना गरी दुई सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला दिनमा दैनिक संक्रमण बढेसंगै भदौं महिनामा मात्र ११० जना भन्दा बढीलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।

गत जेठ महिनाबाट बढेको संक्रमणले अहिले पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पता, लुम्बिनी मेडिकल कजेत तथा रामपुर अस्पतालसंगै निजी मेडिकलहरुमा बिरामीको संख्या बढेको छ।

खोज र नष्ट गर अभियान सञ्चालन गरेर संक्रमण नियन्त्रण गर्ने प्रयास गरिए पाल्पामा दैनिक संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् । यसैबीच पाल्पामा यो वर्षमात्रै डेंगु संक्रमणका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् ।

डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer