४० जना युवाले लिए बृहद यौनिकता शिक्षा सम्बन्धी तालिम

तानसेन। पाल्पाको तानसेनमा नेपाल परिवार नियोजन संघले बृहद यौनिकता शिक्षा दुई दिने तालिम सम्पन्न गरेको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा भएको तालिममा युवा संचारकर्मी, सिमान्तकृत, पछाडि पारिएका, फरक क्षमता भएका, एचआईभी संक्रमित, यौनिक अल्पसंख्यक युवाको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय परिवार नियोजन संघबाट प्राप्त हुने युवा परिचालन पुरस्कार कोषको एशिया महादेशमै एक मात्र अवार्ड प्राप्त गरेको पाल्पा शाखाले यो तालिम आयोजना गरेको हो । प्रशिक्षणमा बृहद यौनिकता शिक्षाका विषयमा स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराई, नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मीले प्रशिक्षण दिएका थिए ।

यौन तथा प्रजनन स्वास्थ्य, युवाहरुको जीवनउपयोगी सीप, युवाको तनाव व्यवस्थापन र सीप विकास क्षमता एवं अपांगता तथा एचआईभी संक्रमित, यौनिक अल्पसंख्यकहरुको सुरक्षित यौन जीवन सम्बन्धी सीप विकास लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।

संयुक्त राष्ट्र संघ र नेपाल सरकारको बृहद यौनिकता शिक्षा सम्बन्धी पाठ्यक्रममा आधारित रही तालिम संचालन गरिएको थियो । तालिममा दृष्टिविहिनहरुका लागि नेपाल परिवार नियोजन संघले तयार पारेको बृहद यौनिकता शिक्षा सम्बन्धी तालिम पुस्तक साथै अन्य श्रव्यदृष्य सामग्री प्रयोग गरी सहजिकरण गरिएको थियो ।

तालिममा ४० जना बराबरको सहभागिता रहेको थियो । कार्यक्रमको नेपाल परिवार नियोजन संघका केन्द्रीय अर्थ निर्देशक नवराज ढकालले उद्घाटन गर्नु भएको थियो भने समापनमा तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मी, युवा सहभागी नेहा जीसी, जमुना अर्याल, आनन्द पाण्डेयलगायतले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सक्दा जीवनउपयोगी हुने बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer