सराईमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

तानसेन।  पाल्पाको माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पा बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा माथागढी गाउँपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च पाल्पालाई ४–२ गोलले पछाडि पारेको छ ।

माथागढी गाउँपालिकाकातर्फबाट वडा नम्बर ४ का वडाध्यक्ष तथा प्रवक्ता शंकर दर्लामीले ह्याट्रिक गोल गरे भने गाउँपालिका अध्यक्ष यम चिदीले एक गोल थपे।

पत्रकार मञ्चकातर्फबाट सचिव विजय वौडेल र सदस्य दुर्गेश मल्लले सान्तवना गोल गरेर खेललाई रोमाञ्चक बनान । प्रतियोगिताको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद नारायणप्रसाद आचार्यले उद्घाटन गर्दै आपसी भाइचारा र मित्रवत सम्बन्ध स्थापना गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए।

उनले कलम र क्यामेरा चलाउने पत्रकारहरु र जनताका सेवक बनेका जनप्रतिनिधिहरु खेलकुदलाई अगाडि बढाउनपर्छ भनेर मैदानमा उत्रेकामा खुसी लागेको बताए।

पाल्पाको माथागढीको माडी क्षेत्रमा रहेको कसेनीलाई उत्कृष्ट खेलमैदान बनाउनका लागि आगामी दिनमा तीन तहका सरकारले पहल गर्नुपर्नेमा उनले बताए ।

लम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेलकुदको माध्यमबाट स्वस्थ शरीर बनाउन सहयोग पुग्ने र मैत्रीपूर्ण खेलले आपसी भाइचाराको सम्बन्ध अझ राम्रो हुने बताए। पत्रकार र जनप्रतिनिधिको सम्बन्धलाई थप बलियो बनाउन मैत्रीपूर्ण खेलले सहयोग पुगेको उनले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाको समन्वय र माथागढी गाउँपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कसेनीको सराई खेलमैदानलाई पाल्पा जिल्लाकै फुटबल मैदान बनाउने योजना रहेको जानकारी गराए।

जनप्रतिनिधि र पत्रकार बीच भातृत्व कायम गर्ने र खेलमैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको जानकारी दिए।

कार्यक्रममा अध्यक्ष चिदीले जिल्लाकै खेलमैदानको रुपमा सराई खेलमैदानलाई विकास गर्ने योजना बनाएको र यसलाई सबैको सहयोग रहनेमा आफु विश्वस्त भएको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले मैत्रीपूर्ण प्रतियोगिताले मनोरञ्जन, सम्बन्ध विस्तार, खेलमैदानको प्रचारप्रसारलगाएतको उद्देश्य प्रतियोगिताले पुरा गर्ने बताए।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्यालले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा स्थानीय तहले विकास गर्न सहयोग गरेकामा सकारात्मक भएको बताए।

उनले खेलकुदको वस्तुगत धरातललाई आत्मासाथ गर्दै यो क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए।

सोही अवसरमा बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगायतका चार्डको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer