विश्व क्षयरोग दिवसः पाल्पामा सङ्क्रम र मृत्युदर घट्न सकेन

तानसेन। पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा मात्रै दुई सय बढी क्षयरोगका संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारीअनुसार जिल्लाको दश वटै स्थानीय तहमा गरिएको परीक्षणका क्रममा २२७ जनामा क्षयरोग संक्रमण देखिएको हो।

याे अवधिमा सबैभन्दा बढी तानसेन नगरपालिकामा ४५ जना, रामपुरमा ४१ जना, निस्दीमा ३१ जना क्षयरोगका संक्रमित फेला परेका छन् । यस्तै माथागढीमा २३ जना, रैनादेवी छहरामा २५, पूर्वखोलामा १७, रम्भामा १५, रिब्दीकोटमा १० र तिनाउ गाउँपालिकाभित्रका १४ जनामा क्षयरोगको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

पाल्पामा गत आर्थिक वर्षम ३३४ जना क्षयरोगका संक्रमित पत्ता लागेका थिए । जसमध्ये २५ जनाको मृत्यु भएको प्रमुख गिरीले बताए। सरकारको लक्ष्यअनुसार सन २०३५ सम्ममा क्षयरोग निवारण गर्ने तथा २०५० सम्म यसको अन्त्य गर्ने लक्ष्य लिएको छ । तर, अहिले पनि समुदायमा यो रोगप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्नु र सबै उपचारको दायरामा नआउदा यो संक्रमण र मृत्युदर घट्न भने सकेको छैन् ।

उसो त पाल्पामा क्षयरोग लागेका ९५ प्रतिशत रोगी निको भएका छन् । गत वर्ष क्षयरोग पत्ता लागेका बिरामीमध्ये अधिकांश निको भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिए ।

गत वर्ष मृत्यु हुनेमा सबैभन्दा बढी रैनादेवी छहराका छ जना रहेका थिए । स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा रोग लागेकामध्ये सात प्रतिशत भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक छ ।

क्षयरोग देखिएपछि नियमित औषधि सेवन नगर्ने र स्वास्थ्य जाँच गर्न नआउने बिरामीको मृत्यु भएको छ । क्षयरोग लागेकामध्ये अधिकांश बिरामीको फोक्सोमा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष क्षयरोग लागेका २२७ मध्ये १३८ जनालाई फोक्सोमा र ७३ जनालाई अन्य भागमा क्षयरोगको जीवाणु भेटिएको छ ।

क्षयरोगी पत्ता लगाउन लक्षण देखिएकामा नियमित खकार जाँच साथै अन्य संकास्पत व्यक्तिमा पनि स्वास्थ्य परीक्षण गर्दै आइएको छ । जिल्लाका सबै पालिकामार्फत यस्को परीक्षण र औषधिको व्यवस्था गरिएको छ ।

नियमित औषधि सेवन गरेमा छ महिनादेखि नौ महिनामा निको हुने यो रोगका बिरामीले नियमित औषधि सेवन नगर्ने तथा लक्षण देखा पर्दा पनि परीक्षणको दायरामा नआउँदा वर्षेनी यो रोगका बिरामी बढ्दो रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer