पाल्पामा थप एक युवकमा औलो संक्रमण पुष्टि

तानसेन।  पाल्पामा थप एक जना युवकमा औलो संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका ३ का १९ वर्षीय युवकमा औलो संक्रमण पुष्टि भएको हो।

रोजगारीको शिलशिलामा भारतको गुजरातबाट नेपाल अाएका उनीमा गत सोमबार परीक्षणका क्रममा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।

औलोसंग मिल्दो लक्षण देखिएपछि पाल्पा अस्पतालमा गरीएको परीक्षमा उनीमा संक्रमण भेटिएको हो। योसंगै यो आर्थिक वर्षमा मात्रै जिल्लामा तीन जनामा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

यसअघि तानसेन नगरपालिका –११, भालुवनका २३ वर्षीय युवक र बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो ।

भालुवनका युवकलाई गत साउन ४ गते पाल्पा अस्पतालमा उपचारको क्रममा र साउन २८ गते मलेरियाको लक्षण देखिएका पोखराथोकका युवकमा आरडिटी जाँच गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो रोगको रोकथामका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाएर रहेको र संक्रमण पुष्टि भएमा नेपाल सरकारले निःशुल्क औषधिको व्यवस्था मिलाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer