रामपुरमा युवा स्वरोजगार सम्बन्धि अभिमुखीकरण

पाल्पा। रामपुर नगरपालिकाले युवा उद्यमीहरुलाई युवा स्वरोजगार कार्यक्रम बारे अभिमुखीकरण गरेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको व्याज अनुदान कार्यक्रमको विषयमा मंगलबार अभिमुखीकरण गरेको हो ।

चालु आर्थिक वर्षमा ब्याज अनुदान लागि निवेदन दिएका उद्यमीहरुलाई कार्यक्रमको उद्देश्य, मापदण्ड र प्रक्रियाको विषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नका व्याज अनुदान कार्यक्रम नगरपालिकाले देश मै पहिलो पटक सुरुवात गरेको बताए। उनले पालिकाले सुरु गरेको व्याज अनुदान कार्यक्रम अहिले प्रभावकारी बनेको बताए। कतिपय कृषकले अनुदान लिने, अनुदान पाएपछि बिचमै छाड्ने प्रवृत्ति रहेकाले राज्यको लगानी सहि ठाउँमा सदुपयोग होस् भन्ने अवधारणाका रूपमा व्याज अनुदान कार्यक्रम ल्याएको नगर प्रमुख थापाले बताए।

आफुले कारोबार गरेको रामपुर नगरभित्रका जुनसुकै वित्तीय संघ संस्थाको खातामा ३÷३ महिनामा नगरपालिकाले व्याज अनुदानका रूपमा रकम भुक्तानी गरिदिने पनि नगर प्रमुख थापाले बताए । रामपुर नगरपालिकाले युवालाई प्रोत्साहन गर्न २ वर्ष सम्मका लागि व्याज अनुदान दिदै आएको छ।

यस आर्थिक वर्षमा छनौट भएका युवा उद्योगीलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम गरिएको हो । केही काम गर्न खोज्ने, चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन व्याज अनुदान उपलब्ध गराउँदै आएको छ ।

कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अवलम्बन गरेको मापदण्ड र प्रक्रियाको विषयमा जानकारी दिए । २१ वर्षदेखि ५९ वर्षसम्मका युवालाई यस कार्यक्रममा समावेश गरिने उनले जानकारी दिए।

सहभागीले कृषि तथा पशुपंक्षिको बीमा गर्न बीमा कम्पनीले नमानेको गुनासो गरेका थिए । पशु शाखा प्रमुख तुलसीराम काफ्लेले बीमाको विषयमा नियामक निकाय वीमा प्राधिकरणलाई झकझक्याउनु आवश्यक रहेको बताए।

युवा उद्यमी विनोद श्रेष्ठले केहि गर्छु भन्ने युवाका लागि यो कार्यक्रम अति राम्रो रहेको बताए। रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन कृषि शाखाका प्राविधिक युवराज नेपालीले गरेका थिए ।

नगरपालिकाले व्याज अनुदानको चालु अर्थिक वर्षका लागिसूचना आह्वान गरेकोमा ४४ जनाले आवेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer