तानसेन। रिब्दीकोट गाउँपालिका वडा नं. ५ कुसुमखोलामा वडा कार्यालय भवन निर्माणका लागि सिलान्यास भएको छ । लामो समयदेखि साघुँरो र जीर्ण भवनबाट कार्यालय सञ्चालन हुँदै आएकोमा जग्गा र बजेटको व्यवस्थापन भएपछि नयाँ भवन निर्माणको थालनी भएको हो ।
भवन निर्माणका लागि सिलान्यास गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बहुवर्षीय योजनाबाट सुरु भएको भवन निर्माण समयमै सकेर नागरिकलाइई सहज तरिकाले सेवा दिनका लागि गाउँपालिका लागि पर्ने बताए। उनले नागरिकलाई सेवा दिनका लागि समयमा गुणस्तरीय काम गर्नका लागि निर्माण व्यवसायीलाई अनुरोध गरे।
स्थानीय सरकारसंगै स्थानीय सारोकारवाला र नागरिकले चासो दिएर समयमा भवन निर्माणका लागि पहल गर्नका लागि पनि अध्यक्ष कार्कीले आग्रह गरे। आफूहरु निर्वाचित भएर आएदेखि नै भवन निर्माणका लागि पहल गरिएकोमा गत वर्ष आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरेर चालु आर्थिक वर्षदेखि भवन निर्माणको थालनी भएको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनाल, वडा नं. ५ का जनप्रतिनिधहरुले समयमा भवन निर्माण सकेर नागरिकलाई सहज रुपमा सेवा दिनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
रिब्दीकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ मा ५० लाख तथा आगामी आर्थिक वर्ष ०८२।८३ मा एक करोड गरी कुल एक करोड ५० लाखमा ठेक्का सम्झौता गरी बहुवर्षीय स्वीकृत आयोजना अन्तर्गतको नयाँ वडा कार्यालय भवनको निर्माण सम्पन्न गर्ने जनाएको छ ।
भवन निर्माणका केटिएस विल्डर्स बुटवलले ठेक्का सम्झौता गरेर कामको थालनी गरेको हो । देश संघीय सञ्चनामा गएपछि निर्वाचित दोस्रो सरकाको तेस्रो वर्षमा सुविधा सम्पन्न भवन बन्न लागेपछि स्थानीय पनि खुसी भएका छन् ।





















