नर्सहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्छः मन्त्री सारु

तानसेन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नर्सिङ्ग पेशा सम्मानित पेशा भएपनि राज्यले सेवाअनुसारको सम्मान र पारीश्रमिक दिन नसकेको बताएका छन् । उनले राज्यले सुविधा प्रदान र संरक्षण गर्न नसक्दा धेरै नर्स र स्वास्थ्यकर्मीको सेवाप्रति आर्कषण घटेको दावी गरे।

नेपाल नर्सिङ्ग संघ पाल्पाले तासनेमा आयोजना गरेको अन्तराष्ट्रिय नर्सिङ्ग दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले मानव संसाधान र आर्थिक समृद्धिसंग नर्स र अन्य पेशाकर्मीलाई जोड्न प्रदेश सरकारले पहल गर्ने बताए।

मन्त्री सारुले अस्पतालहरुमा विज्ञापन गर्दा आवेदन दिने नर्सहरु एक दुई महिनामै छाडेर विदेश जाने प्रचलन बढेको बताउँदै पेशामा स्थायीत्व दिनका लागि सरकारको तर्फबाट पहल गर्नुपर्ने बताए।

प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्यकर्मीहरुको सेवा सुविधासहित पेशागत सुरक्षाका लागि नीति तथा कार्यक्रममा अद्धि बढेको बताउँदै स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गर्न काम गरिरहेको मन्त्री सारुले बताए। समग्र देशको तुलनामा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर बढी देखिएकोमा काम गर्न मन्त्रालयले १२ वटै जिल्लाका स्वास्थ्य संस्थामार्फत कार्य गरेको बताए।

प्रदेश मातहतका १४ वटै अस्पताल विकास समितिलाई पूर्णता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने रणनीति अपनाउने पनि मन्त्री सारुले बताए।

प्रदेश सरकारले मानसिक सस्थ्य र अन्य सेवाहरुलाई प्रभावकारी बनाउन तालिमसहितको व्यवस्थापनमा ध्यान दिएको उनले बताए। स्वास्थ्यकर्मी र नर्सहरुको व्यवहारले बिरामीको आधा रोग निको हुने हुँदा सेवामा प्रभावकारी ढंगबाट प्रस्तुत हुनका लागि नर्सहरुलाई सारुले निर्देशन दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, तानसेन नर्सिङ्ग स्कुलकी डा. शकुन्तला थान्जु लुम्बनी मेडिकल कलेजकी पार्वती नेपाललगायतले नर्सिङ्ग पेशा र नर्सहरुको भूमिका बारेमा धारणा राखेका थिए ।

यसैबीच संघले स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा सहभागीमध्येका ३३ जनाको नसर्ने रोग सम्बन्धी स्क्रीनिङ्ग गरिएको संघकी अध्यक्ष लक्ष्मी जिसीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer